१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

राष्ट्रपति तराई मधेस चुरे संरक्षणद्वारा बाँकेमा २० हजार वृक्षरोपण



नेपालगञ्ज ।
राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम अन्तर्गत बाँकेमा एक साताभित्र २० हजार वृक्षरोपण गरिएको छ । बाँके बैजनाथ गाउँपालिकाको गाभरभ्यालीमा रहेको रारा आधारभूत विद्यालयको प्राङ्गणबाट शुरु भएको सो वृक्षरोपण उक्त क्षेत्रको १० हेक्टर जग्गामा गरिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य भेषराज आचार्यले बताउनुभयो ।

उहाँले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ लम्कीको आयोजनामा चुरे दिवसका दिन शुरु गरिएको वृक्षरोपण एकसातामा सम्पन्न भएको बताउनुभयो ।

एकसाता भित्र २० हजार बिरुवा रोप्ने गरी शुरु गरिएको सो वृक्षरोपण अभियानको शुभारम्भ लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले गर्नुभएको थियो ।

पहिलेदेखि नै अति सुन्दर र रमणीय रहेको गाभरभ्यालीमा गरिएको यो वृक्षरोपणले सो क्षेत्रको वातावरणलाई राम्रो बनाउनुका साथै यहाँ आउने पर्यटकलाई समेत आकर्षित गर्ने गाभरभ्याली होमस्टेका सञ्चालक कृष्ण चौधरी बताउनुहुन्छ ।

उहाँले चुरे क्षेत्रको रक्षा र वातावरणको संरक्षणका लागि यो वृक्षरोपण निकै महत्वपूर्ण भएकाले यस्ता कामलाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमले निरन्तर जारी राख्नुपर्ने सुझाव दिनुभयो ।

हरित अभियन्ता तथा कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेले सरकारले वृक्षारोपण र ती वृक्षलाई जोगाउने ठूलै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य आचार्यका अनुसार राष्ट्रपति चुरे समितिले वृक्षारोपण र चुरे क्षेत्रमा हरियाली प्रवर्धनलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही अनुरुप गाभरभ्यालीको १० हेक्टर क्षेत्रफलमा २० हजार वृक्षरोपण गरिएको छ ।

सन् २०३० सम्ममा नेपालमा ४५५ वन क्षेत्र कायम गर्ने र सन २०४५ सम्ममा कान न्युट्रल बनाउने लक्ष्य नेपालले लिएकोमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले पनि चुरे क्षेत्रमा बढीभन्दा बढी वृक्षरोपण गरी उक्त लक्ष्य पूरा गर्न योगदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  ४ : २१ बजे