१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बुद्धभूमि नगरपालिकाद्धारा व्यवसायिक किसानलाई नगदसहित सम्मान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले व्यवसायिक रुपमा कृषि पेशा अंगालेका उत्कृष्ट किसानलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

बुधबार १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसर पारेर गरिएको कार्यक्रममा नगरपालिकाले १० जना उत्कृष्ट व्यवसायिक किसानलाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

यसरी सम्मानित हुने किसानमा बुद्धभूमि ७ डरेवाका तरकारी खेती गर्ने किसान गुरु प्रसाद मुराउ, बुद्धभूमि १० गगनीका तरकारी खेती गर्ने किसान अब्दुल सकुर मुसलमान, बुद्धभूमि १० मोतिनगरका तरकारी खेती गर्ने किसान राम कुमार केवट लगायत रहेका छन् ।

यस्तै बुद्धभूमि १० देउपुराका तरकारी खेती गर्ने किसान सन्दीप कुमार केवट, बुद्धभूमि १ पथ्थरकोटका केरा खेती गर्ने किसान नारायण प्रसाद बेल्वासे, बुद्धभूमि ९ की ड्रागन खेती गर्ने किसान सुनिता पोख्रेल, बुद्धभूमि १० लौहरौलाका सत्यभामा केवट, बुद्धभूमि १० चेतरादेहीका महन्थ केवट, बुद्धभूमि १० धरमपुरका राम अयोध्या केवट, बुद्धभूमि १० झलवाका सुखराम प्रसाद केवट तरकारी खेती गर्ने किसानलाई सम्मान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख देवीराम बेल्वासेले जानकारी दिए ।

किसानलाई सम्मान गर्दै नगर प्रमुख केशवकुमार श्रेष्ठले व्यवसायिक रुपमा कृषिकर्म गर्ने किसानलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । किसानको हौसलास्वरुप नगरले यस्तो कार्यक्रम ल्याएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने श्रेष्ठले जनाए ।

अब किसानका लागि नगरपालिकाले छिट्टै कृषि बीमाको कार्यक्रम ल्याउने पनि उनले जानकारी गराएका छन् । यसले कृषि पेशा अंगाल्ने व्यवासायिक किसानलाई लाभ मिल्ने उनको विश्वास छ ।

बुद्धभूमि नगरपालिकामा तरकारीको पकेट क्षेत्र छ । व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसान बढिरहेका बेला नगरपालिकाले किसानलाई थप हौसला स्वरुप नगदसहित सम्मान गरेको हो । पछिल्लो समय तरकारीका अलवा फलफूल खेती, पशुपालन गर्ने किसानको संख्या बढीरहेको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९ बुधबार ००:००  ७ : २० बजे