८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

देशभर अहिलेसम्म झन्डै २० प्रतिशत मात्रै रोपाइँ



काठमाण्डौ ।

देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।

सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो । मनसुन भित्रिएपछि पूर्वमा रोपाइँ सुरु भएको थियो । त्यहाँ अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।

प्रदेश २ मा रोपाइँ सुरु हुन सकेको छैन । सबैभन्दा धेरै मध्य, पूर्व र तराई क्षेत्रमा धान खेती हुने गरेको छ । तर मल र सिँचाइका कारण यसवर्ष रोपाइँ प्रभावित भएको छ । पश्चिममा अलि छिटो रोपाइँ हुने गरेको तर पूर्वमा मकैबाली र चैते धानबालीका कारण ढिलो हुने गरेको वरिष्ठ कृषि अर्थविज्ञ जोशीको भनाइ छ । धान रोपाइँ ढिला हुनुमा मुख्य दुई कारण मल र सिँचाइ रहेका छन् । किसानले बेलैमा मल पाउन नसक्दा कुरेर बस्नुपर्ने बाध्यता छ ।

भारतबाट मल आउने क्रममा रहेको र देशभर मनसुन पनि सक्रिय भएकाले अब धमाधम रोपाइँ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताउनुभयो । विगतको तुलनामा यसपालि मध्यअसारसम्म धान रोपाइँ अलि कम देखिएको तर साउनको पहिलो हप्तासम्म ९० प्रतिशतसम्म रोपाइँ भैसक्ने उहाँको भनाइ छ ।

भारतबाट पहिलो लटमा १५ हजार टन युरिया मल भित्रिँदैछ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर आरसीएफ ले कृषि सामग्री संस्थानको वीरगञ्ज गोदामसम्म यो मल ल्याइदिने गरी सहमति भएको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो । त्यस्तै कृषि सामग्री कम्पनीले गरेको ग्लोबल टेन्डरमार्फत ३० हजार टन मल आउनेक्रममा रहेकाले केही सहज हुने उहाँको भनाइ छ ।

धानबालीका लागि मात्रै नेपालमा झन्डै १ लाख ५० हजार टन मल आवश्यक पर्छ । धानबाली खाद्यान्नको रुपमा चामल मात्रै नभएर समग्र अर्थतन्त्रसँग पनि जोडिन्छ । आर्थिक वर्ष २०७८-७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ५१ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ८ दशमलव ७४ प्रतिशतले कमी हो ।

चालु आर्थिक वर्षको ११ महिनामा धानरचामलरकनिका र बीउ गरी ४५ अर्ब रुपैयाँभन्दा धेरैको आयात भएको छ । धानको उत्पादन तथा उत्पादकत्व बढाउने र व्यवसायीकरण गर्ने उद्देश्यले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको थियो । हिजो देशैभर ‘धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  ८ : १० बजे