२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कपिलवस्तु नगरपालिकाले ल्यायो ९३ करोड ८४ लाख बराबरको बजेट



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने प्रकृया अघि बढाइएको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवामा आयोजित १२ नगर सभाको दोश्रो बैठकले बुद्ध नगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय सर्वसम्मत निर्णय पारित गरेको हो।

बुद्ध नगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय १२ औँ नगर सभाबाट सर्वसम्मत रुपमा पास भएको मेयर सुदीप पौडेलले बताए।

बुद्धको माध्यमबाट प्राचिन नगरी कपिलवस्तुको चिनारी र पर्यटकीय विकासका लागि आफुहरुले यो निर्णय पारित गरेको मेयर पौडेलले बताए। ‘हामीले नगरपालिकालाई सांस्कृतिक नगर बनाउने प्रकृया अघि बढायौँ, अब ठोस पहल गर्छौ’ उनले भने।

उता १२ नगर सभाबाट आगामी आर्थिक बर्ष २०७९र०८० कालागि नगर पालिकाको ९३ करोड ८४ लाख ७२ हजार बजेट पारित भएको छ। यो बजेटमा सामाजिक सुरक्षा भत्ताको रकम भने समाबेश नभएको प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले बताए। उप मेयर सुनिता गुप्ताले पेश गरेको बिनियोजन बिधयेक २०७९ समेत पास भएको हो।

बजेटमा प्रत्येक वडालाई ८५ लाखको दरले तथा नगर स्तरीय बजेट मार्फत प्रत्येक वडालाई थप ५० लाखका दरले बजेट बिनियोजन गरिएको छ। यस्तै बजेटमा स्वास्थ्य बिमा साझेदारी कार्यक्रम संचालन गर्न एक करोड बजेट बिनियोजन भएको छ। झण्डै साढे १२ हजार लाई बिमामा समाबेश गर्न बिमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले ब्यहोर्ने गरी बजेट छुट्टाइर्एको मेयर पौडेलले बताए।

स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपचारमा सहजताका लागि यो कार्यक्रम संचालन गरिएको मेयर पौडेलले बताए। यस्तै हुलाकी सडक निर्माणका क्रममा गत फागुनमा भत्काइएको ऐतिहासिक महेन्द्र गेट पुर्न निर्माणका लागि ५० लाख बजेट बिनियोजन गरिएको छ।

यस्तै कपिलवस्तु नगरपालिका प्रबेश गर्ने चार वटाद्धारहरु जमुहार, बर्धाहवा, भिक्षु चोक र बहादुरगंज चोकमा डिजिटल प्रतिक्षालय निर्माणका लागि ५० लाख बजेट छुट्टाइएको छ। यसै गरी प्रशासन चोक अघि आकाशे पुल निर्माणका लागि ३० लाख बजेट बिनियोजन भएको छ।

यस्तै निः शुल्क शिक्षा कार्यक्रम अन्तर्गत बिद्यालयलाई अनुदान दिन ८१ लाख ७३ हजार बजेट छुट्टाइएको छ। सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले बजेटमा पर्यटक प्रबद्र्धन, करारका कर्मचारीको पोशाक भत्ता ५ हजारलाई बढाएर १० हजार गर्नु पर्ने गोरुसिंगे तौलिहवा सडकखण्डमा बुद्धको मुर्ति राख्नु पर्ने लगायतका सुझाव दिएका थिए।

सभाले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक र बिनियोजन बिधेयर पारित गरेको छ। करारका कर्मचारीहरुको एक बर्ष म्याद थप्ने, नगरको बजेटबाट संचालित केही योजनाहरुको म्याद थप्ने, न्यायिक समितिको प्रतिबेदन समेत पास भएको छ।

यस्तै न्यायिक समितिमा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा र वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवलाई राख्ने सभाले निर्णय गरेको छ।

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  ८ : १२ बजे