२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

जसपाभित्र विभाजनको प्रक्रिया सुरू



काठमाडौं ।

जनता समाजवादी पार्टीमा विभाजनको प्रक्रिया सुरू भएको छ।

अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बेग्लाबेग्लै बैठक बोलाएका छन्।

बाबुरामले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरू हुँदैछ।

उपेन्द्र पक्षले भने आजै वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समिति बैठक राख्दैछन्। वीरगञ्जमा बुधबार र बिहीबार उपेन्द्र पक्षले पनि केन्द्रीय समितिको बैठक राख्ने भएका छन्।

केही समयदेखि बाबुराम र उपेन्द्रबीच सम्बन्ध बिग्रेको छ। उपेन्द्रले विधानअनुसार काम नगरेको र एकलौटी ढंगले अघि बढेको बाबुराम पक्षको आरोप छ।

बाबुरामनिकट एक नेता डम्बर खतिवडाका अनुसार जसपा अब विभाजनको प्रक्रियामा पुगेको छ। ‘अब प्रक्रियागत रूपमा पार्टी विभाजनको बाटोमा गयो,’ खतिवडाले भने।

उपेन्द्रनिकट नेता प्रकाश अधिकारीले भने काठमाडौंमा बाबुराम पक्षले गर्ने बैठक आधिकारिक नभएको भन्दै विज्ञप्ति निकालेका छन्। पार्टीविरूद्ध षड्यन्त्र भइरहेको उनले बताए।

उपेन्द्रनिकट एक नेताका अनुसार आज वीरगञ्जमा बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठकमा बाबुरामले बोलाएको भेलाबारे पनि कुराकानी हुनेछ।

‘हाम्रो बैठकमा बाबुराम भट्टराईका गतिविधि छलफलको विषय बन्छ,’ ती नेताले भने। केही समयअघि बाबुराम र उपेन्द्रबीच सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति बनेको थियो।

प्रकाशित मिति : २८ असार २०७९ मंगलबार ००:००  १२ : ३६ बजे