३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

श्रीलङ्कामा सङ्कटकाल घोषणा



एजेन्सी ।

श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ ।

प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन् । राष्ट्रपति राजपाक्षे र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरि खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भए पनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७९ बुधबार ००:००  ३ : ०० बजे