काठमाण्डौ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायतका नौजना नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको छ ।
आज वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको हो ।
हिजो सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा। भट्टराईसहित, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।
कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरीत काम गरेको, पार्टीको सिद्धान्त विपरीत अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उहाँले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो –ुबाबुराम प्रमुख भूमिका खेल्नेहरु नेताहरुलाई पार्टीको हित विपरीत, पार्टीको एकतालाई तोड्ने प्रयास गरेको र पार्टीको जुन घोषित लक्ष्य छ, उद्देश्य छ, सिद्धान्तका विपरीत अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय समेत, नयाँ पार्टी स्थापना गर्ने भन्ने निर्णय समेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा सम्हालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । पदमुक्तिसँगै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’
अध्यक्ष यादवले सरकारले संसदमा पेस गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताउनुभयो । उहाँले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पार्नुभयो ।
जसपामा विवाद बढेपछि सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाण्डौमा सम्पन्न गर्नुभएको थियो । यादव पक्षको यो निर्णयसँगै जसपा औपचारिक विभाजनको नजिक पुगेको छ ।
प्रतिक्रिया