३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

एमाले भूमिकास्थान नगर कमिटीले गर्‍यो निर्वाचन समिक्षा



मायादेवी अनलाइन, सन्धिखर्क ।
नेकपा (एमाले) भूमिकास्थान नगर कमिटीको पाचौँ पूर्ण बैठकले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गरेको छ ।

समिक्षा बैठकले स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनसँग जोडिएका राजनीतिक दलहरुको बरावर हैसियत हुँदा पनि पार्टीको मत बढाउन सफल भएको र प्राविधिक कारणले चुनावमा पराजय हुन पुगेको निष्कर्ष निकालेको छ ।

बैठकका प्रमुख अतिथि नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटीका सदस्य प्रेम नारायण गैरेले स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजयको नजिक पु-याउनु नै एमालेको सफलता भएको बताए । तर यसैमा सन्तोष मानेर बस्ने स्थिति नभएको भन्दै आगामी प्रदेश र संघीय निर्वाचानमा एमालेका उम्मेदवारलाई विजय गराउन आजैका दिनदेखि लाग्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन उनले निर्देशन दिए ।

एमाले का जिल्ला कमिटी सचिव तोज वहादुर रायमाझीले भूमिकास्थान नगरपालिकामा एमालेको प्राप्त मतलाई रक्षा गर्न सके आगामी निर्वाचनमा जस्तोसुकै गठबन्धनलाई पनि पराजय गर्न सक्ने भन्दै सबै नेता तथा कार्यकर्तालाई उत्साहका साथ पार्टी काममा लाग्न अनुरोध गरे ।

बैठकमा एमालेका जिल्ला कमिटीका सदस्य तथा भूमिकास्थान नगर कमिटीका इन्चार्ज खगेश्वर पन्थी, सह­ इन्चार्ज रेशम थापा लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

बैठकमा भूमिकास्थान नगरपालिकामा र वडाहरुमा पराजय हुनुको आन्तरिक र वाह्य कारणको अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले साउन २० गतेभित्र नगर कमिटीलाई प्रतिवेदन बुझाउने छ ।

बैठकले पार्टीका सबै वडामा साउनको ५ गनेसम्म बैठक वस्ने, चुनावी समीक्षा गर्ने, सदस्यता वितरण र नविकरण, जनसंगठनहरुका बैठक तथा अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको एमाले भूमिकास्थान नगर कमिटीका सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  १२ : १० बजे