२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

हाम्रो छलफल कांग्रेससँगको गठबन्धनविरुद्ध होइनः प्रचण्ड



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ ।

भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्यो एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा सबै पार्टीहरूले गरेका निर्णयको बारेमा चर्चा भयो । कांग्रेसको केन्द्रीय समिति बैठकले गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने निर्णय गरेको छ । एमालेको निर्णय पनि आइराखेको छ । त्यसबारेमा पनि चर्चा गर्‍यौँ । यो गठबन्धनलाई चाहिँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन ।’

अध्यक्ष प्रचण्डले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताउनुभयो । उहाँले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गर्नुभयो ।

मङ्गलवार सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ६ : १२ बजे