२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेपालमै पहिलो पटक श्री स्टिल्सको टिएमटी छड भारत निर्यात



भैरहवा ।

श्री स्टिल्सले टिएमटी छड भारत निर्यात सुरु गरेको छ । यस संगै सिमेन्ट पछि छडको पनि भारत निर्यात सुरु भएको छ । श्री स्टिल्सले निर्यातको उदघाटन गर्दै पहिलो खेपमा १ ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो ।

आगामी दिनमा उताको माग अनुसार निरन्तरताका साथै निर्यात बढाउने उद्देस्य रहेको श्री स्टील प्रालीका सन्चालक राजेश अग्रवालले जानकारी दिए । उनले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार निर्यात सुरु गरिएको बताए । “कहिले लोडसेडि,कहिले विद्युत ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गरेको र विभिन्न समस्यासँग जुध्दै चूनौतीको सामना गर्दै आज अन्य देश निर्यातको शुभारम्भ गर्दैछौ ।” अग्रवालले भने “यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो ।

यस अवसरमा स्टील्स मात्रै नभई रुपन्देही लगाएत देशकै उद्योगका उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन हामी विभिन्न तहका सरकारसँगै सरोकारवालासँग आग्रह गर्दछौं।” यसले नेपाल भारत बिच भएको ब्यपार घाटा केही हदसम्म कम गर्ने बताए । उनले बर्षको १५ लाख मेट्रीक टन निर्यात गर्ने नेपाली उध्योगको क्षमता रहेको बताए । केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टील्स टिएमटी फलामे छड उत्पादन गर्दै प्रालीका ब्राण्ड म्यानेजर दिपक शाहले बताए ।

उनले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जानकारी दिए । उनले आकार र तौलमा एकरुपता श्री स्टील्सका विशेषता भएको बताए प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड भएको शाहले दावी गरे ।

तीन अरब लगानी रहेको रोहिणी गाउँपालिका –३ सेमरहवास्थित श्री स्टील्स प्रालीमा ५ सय जना प्रतक्ष्य रुपमा रोजगार पाएको शाहले बताए । प्रालीका प्रवन्ध निर्देशक राजेश अग्रवालको अध्यक्षता, रोहिणी गाउपालिका अध्यक्ष बिध्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री, प्रालीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवाल, भारतका आयातकर्ता मनोज अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  १२ : १० बजे