२७ भाद्र २०८१, बिहिबार | Fri Sep 13 2024

आगामी चुनावमा पार्टीको सिट बढ्छ समाजवादी अध्यक्ष : नेपाल



काठमाण्डौ ।

नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा आफ्नो पार्टीको सिट बढ्ने दाबी गर्नुभएको छ ।

आज बुधवार काठमाण्डौमा पार्टीको स्कुल विभागले आयोजना गरेको पालिकाका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताउनुभयो । प्रत्यक्ष चुनावमा आफ्नो पार्टीको सिट बढ्ने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनको गीत हामीले बढी गायौँ । गठबन्धनको भरोसा धेरै गर्‍यौँ । अरूको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनौँ । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । समानुपातिकमा २०र२५ लाख मत प्राप्त गर्‍यौँ भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष चुनावमा हाम्रो क्षमता बढ्छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा फुटाएको आरोप लगाउनुभयो । एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको उहाँको भनाइ छ । उहाँले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीले अहमता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ४ : १३ बजे