२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

वर्षा हुँदा बाँकेका किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई



नेपालगञ्ज।

लामो प्रतिक्षापछि बाँकेमा वर्षा शुरु भएपछि यहाँका अधिकांश किसानलाई अहिले रोपाइँ गर्न भ्याइनभ्याई छ । समयमा वर्षा नहुँदा केही किसानले रोपेको धान पानी अभावका कारण सुक्ने अवस्थामा पुगेको थियो । अधिकांशको ब्याडसमेत सुक्न लागिसकेकै बेला बुधवार बिहानदेखि परेको वर्षाले किसानलाई राहत भएको छ ।

यस वर्ष धान रोप्न नपाइने हो कि भन्ने चिन्तामा रहेका जिल्लाका अधिकांश किसान वर्षा भएपछि खुशी भएर आ आफ्नो खेतमा रोपाइँ गर्न व्यस्त रहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले साउन शुरु भएपछि ढिलो वर्षा शुरु भएका कारण किसानलाई रोपाइँ गर्न चटारो परेको हो । बाँके डुडुवा ४ का किसान नरेश मौर्यले जेनतेन गरी केही खेतमा रोपेको धान पानी नपर्दा सुक्ने अवस्थामा पुगे पनि पानी पर्दा खुसी लागेको बताउनुभयो । अब यस वर्ष पनि खेती राम्रो हुन्छ भन्ने आशा पलाएको उहाँको भनाइ छ ।

यस्तै बाँके जानकी ३ का किसान शमसेर खाँले पानी नपर्दा केही मात्र रोपिएको धान पनि जोगाउन समस्या भइरहेको बेला पानी परेपछि मन खुस भएको जनाउँदै अब धमाधम रोपाइँ शुरु गरेको बताउनुभयो । यस्तै, खडेरीका कारण धान उत्पादनमा समस्या हुने हो कि भन्ने त्रास तत्कालका लागि टरेको राप्तीसोनारी –९ ढकेरीका किसान मोतीलाल परियारले बताउनुभयो ।

‘बाँकी रहेको खेत अब पानी परेपछि रोप्न पाइने भयो’ उहाँले भन्नुभयो, ‘अब केही दिन खेतकै काममा लागिन्छ ।’ दुई साता यता पानी नपर्दा रोपाइँ गरेका खेत गर्मीका कारण सुख्खा भएर धाँजा फाटेका थिए ।

अन्न भण्डार मानिने बाँके जिल्लामा साउन पहिलो साता भइसक्दा समेत पानी नपर्दा धान रोपाइँ कम मात्र भएको थियो । सिक्टा सिंचाइ आयोजनाको नहरले छोएको क्षेत्रको वरिपरि मात्रै रोपाइँ भएको थियो । सो नहरले राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाका धेरै ठाउँलाई छोएर बगेको छ । ती क्षेत्रमै बढी रोपाइँ भएको छ ।

वर्षा नहुँदा मङ्गलवारसम्म ४५ प्रतिशत मात्र रोपाइँ भएको बाँके जिल्लामा शुक्रवारसम्म ५८ प्रतिशत रोपाइँ भैसकेको र अहिले निकै तीव्र गतिमा रोपाइँ भैरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । अहिलेसम्म ९८ प्रतिशत धान रोपाइँ भइसक्नुपर्नेमा वर्षा नहुँदा हुन नसकेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९ शुक्रबार ००:००  ३ : ३७ बजे