रूपन्देही ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको चालु दसौं अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाले आइतबारका लागि बैठक बोलाएको भए पनि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सरकारले अचानक बजेट अधिवेशन अन्त्य गरेको हो ।
सरकारको निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले शुक्रबारकै मिति राखेर चलानी बिनाको विज्ञप्ति शनिबार बिहान ५ बजे सार्वजनिक गरेको थियो । पत्रमा मन्त्रिपरिषद्को सिफारिस भने पनि कहिलेको मन्त्रिपरिषद् बैठकको सिफारिस भन्ने पनि उल्लेख छैन ।
कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले सूचना जारी गरेर सभा अन्त्य गरेको जानकारी गराएका हुन् । प्रदेश प्रमुखको विज्ञप्ति सार्वजनिक भएको केहीबेरमै प्रदेशसभा सचिवालयले पनि फेसबुक पेजमा सूचना राख्दै शुक्रबार बिहान साढे ५ बजे नै अधिवेशन अन्त्य भएको जानकारी गराएको छ ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको जनाएका छन् । प्रदेशसभाको दसौं अधिवेशनको असार १५ गतेको बैठकले सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको थियो ।
प्रतिक्रिया