म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुुई जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।
आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।
गोठे र उहाँकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।
प्रतिक्रिया