कपिलवस्तु ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार खुसुक्क तिलौराकोटको भ्रमणमा आएका छन् । लुम्बिनी विकास कोषले पर्यटन मन्त्रीलाई तिलौराकोटको भ्रमणका लागि ल्याए पनि यहाँका सरोकारवाला निकायलाई खबरै गरेन् ।
कपिलवस्तुमा अवस्थित तिलौराकोट भगवान गौतमबुद्धले २९ बर्ष विताएको स्थान हो ।
तिलौराकोट भ्रमण पश्चात पर्यटनमन्त्री श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन्।
मन्त्री श्रेष्ठले तिलौराकोटको सम्बर्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।
भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ।
तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रकृया पुरा गरिने उनले बताए। तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनले बताए।
तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताए।
सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए।
लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले बताए। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए।
तिलौराकोट इसापूर्व छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो।
भगवान गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ।







प्रतिक्रिया