१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

साफ यू–२० च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो



काठमाडौं ।
नेपाल भारत यू–२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ ।

भारतसँग ८–० को लज्जास्पद हार व्यहोरेको नेपालका लागि फाइनल प्रवेशको सम्भावना कायम राख्न बंगलादेशमाथि भारी गोल अन्तरको जित चाहिएको थियो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकियो, जुन खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो । तीन खेलाडीले रातो कार्ड पाएका थिए ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । १५औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो । ३३ औं मिनेटमा दिपेश गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाए ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेलेका थिए । तर दोस्रो मिनेटमै तनाव देखियो । बंगलादेशका कप्तान तनविर हुसेनले नेपालका कृतिश रत्न छुन्जुलाई लडाएपछि लाइन्स म्यानले फल दिए । हुसेन, लाइन्सम्यानसँग प्रतिवाद गर्न गए । नेपालका कप्तान आयुष घलानले बंगलादेशी खेलाडीलाई धक्का दिएपछि हात हालाहालको स्थिति बन्यो ।

रेफ्रीले बंगलादेशका शहीदुल इस्लाम र नेपालका दिपेश गुरुङलाई रातो कार्ड देखाए । पहिल्यै पहेँलो कार्ड पाइसकेका शहीदुललाई दोस्रो पटक पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका थिए । हात हालाहालमा संलग्न भएका नेपालका बेन्चमा खेलाडी रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड देखाए । मैदानमा दुवै टिम १०–१० खेलाडीमा सिमित भयो ।

खेल झनै प्रतिस्पर्धात्मक बन्यो । ६३औं मिनेटमा अहमेद नोभाले गोल गर्दै बंगलादेशलाई पहिले अग्रता दिलाए, तर पाँच मिनेटपछि ने नेपालले गोल फर्कायो । ६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे ।
८८औं मिनेटमा बंगलादेशका नोभाले वान भर्सेस वानमा गोल गर्सकेनन् । नोभाको प्रहार नेपालका गोलकिपर इश्वर गुरुङले बचाएपछि खेल बराबरीमा टुंगियो ।

बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गर्यो । समान चार खेलबाट ७ अंक जोडेको नेपालका लागि भने भारत र माल्दिभ्सको खेल महत्वपूर्ण भयो ।

६ अंक जोडेको भारत, माल्दिभ्ससँग भारत पराजित भएमा नेपाल फाइनल पुग्ने भयो । बराबरी वा जितले भने भारत फाइनल पुग्ने अवस्था बन्यो ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ६ : ०९ बजे