१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मिटर ब्याज ठगी रोक्न कार्यदल गठन



काठमाण्डौ ।

सरकारले मिटर ब्याज ठगी समस्या सुल्झाउन र यसमा संलग्न व्यक्तिलाई कारबाही गर्नका कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रीसहित प्रहरी प्रमुखलाई बोलाएर निर्देशन दिए लगत्तै कार्यदल गठन गरिएको हो। गृह मन्त्री बालकृष्ण खाँणले गृहका सह(सचिव भीष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्।

कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेका छन्।

त्यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्कालाई कार्यदलको सदस्य सचिव तोकिएको छ। कार्यदललाई एक महीनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको गृह मन्त्रालयले जनाएको छ।

मिटर ब्याज ठगीमा परेका नवलपरासीका किसान काठमाडौंमा आएर धर्ना दिइरहेका छन्। उनीहरूको समस्या सम्बोधन गर्न कार्यदल गठन गरिएको हो।

मिटर ब्याज र ठगीको जालोमा परेका नवलपरासीका किसानले फेरि काठमाडौंको माइतीघर मण्डलमा धर्ना शुरू गरेका छन्।

आज बिहान प्रधानमन्त्री देउवाले गृह मन्त्री खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई बोलाएर मिटर ब्याज सम्बन्धी समस्या समाधान गरी यसमा संलग्न व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएका थिए।

त्यसलगत्तै गृह मन्त्री खाँणले यस समस्याको समाधानका लागि अध्ययन गर्न र आवश्यक कारबाहीका लागि सिफारिश गर्न कार्यदल गठन गरेका हुन्।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  २ : ३६ बजे