२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

इन्जिनियरिङको आंगिक क्याम्पस सञ्चालनको प्रक्रिया सुरु



दाङ ।

त्रिभुवन विश्वविद्यालयले प्रत्येक प्रदेशमा इन्जिनियरिङको आंगिक क्याम्पस खोल्ने निर्णय गरे अनुसार लुम्बिनी प्रदेश दाङको घोराहीमा क्याम्पस सञ्चालनका लागि प्रक्रिया सुरु भएको छ। क्याम्पसको गुरुयोजना र विस्तृत परियोजना रिपोर्ट तयार भएको छ।

उक्त काम सकिएपछि परियोजनाको संयोजकमा दाङ निवासी सहप्राध्यापक रामप्रसाद पौडेललाई विश्वविद्यालयले नियुक्त गरेको छ। हालै गुरुयोजना र डीपीआर तयार भएपछि थप प्रक्रिया अघि बढाउनका लागि घोराही उपमहानगरपालिका–१ काँडाखुटी घर भई पोखरामा कार्यरत सहप्राध्यापक पौडेललाई परियोजना संयोजकमा नियुक्त गरेको हो।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको पहलमा त्रिभुवन विश्वविद्यालयले घोराहीमा इन्जिनियरिङको आंगिक क्याम्पस खोल्ने निर्णय भएको थियो। त्यसलगतै क्याम्पस स्थापना गर्ने विषयमा आवश्यक पूर्वाधारको अवस्थाका बारेमा इन्जिनियरिङ अध्ययन संस्थानको टोलीले २०७८ साल कार्तिक ९ गते जग्गाको अवलोकन र सरोकारवालाहरुसँग परामर्श गरेको थियो।

जग्गासहित पूर्वाधारको विस्तृत अध्ययनका लागि क्याम्पस सञ्चालनका लागि बनाइएको अध्ययन समितिले जग्गाको निरीक्षण एवं सरोकारवालासँग छलफल गरेको थियो। अध्ययन समितिका संयोजक तथा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन सुशीलबहादुर बज्राचार्यको नेतृत्वमा आएको टोलीले घोराही–१५ भरतपुर र घोराही–१७ भैसाहीमा जग्गा हेरेको थियो। भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको ५ विगाह र भैसाहीमा रहेको भैसाही बेलभार सामुदायिक वन उपभोक्ता समूहको २२ विगाह जग्गा टुंगो लागेको छ।

वन समूहको जग्गा क्याम्पस स्थापनाका लागि इन्जिनियरिङ अध्ययन संस्थानलाई दिने भनी उपभोक्ताको सहमतिसहित वडा कार्यालय र घोराही उपमहानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरि प्रक्रियालाई अघि बढाइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए।

अध्ययन समितिका संयोजक तथा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन बज्राचार्यले दाङमा इन्जिनियरिङ क्याम्पस स्थापनाको काम अघि बढेको र अब दाङबासीले यसलाई सम्पत्तिका रुपमा ग्रहण गरेर विकास गर्नुपर्ने बताए।

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ३ : ०२ बजे