६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको म्याद एक वर्ष थपिंदै



चितवन ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नुपर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष म्याद थपिदिने तयारी गरेको छ ।

११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन २२ गते भित्र काम सकिसक्नु पर्नेमा जम्मा १८।४४ प्रतिशत मात्रै काम सकेको छ । सोही कम्पनीलाई ठेक्काको म्याद १ वर्ष थप्ने प्रक्रिया सुरु भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

‘ठेकेदारले काम त गरेको छैन थाहा छ, तर यो ठेक्का तोडेर अर्को ठेक्काको प्रक्रियामा जाँदा पनि समय लाग्छ,’ महानिर्देशक थापाले भने, ‘बरु यही कम्पनीले एक वर्ष भित्र काम गरिसक्छु भनेर प्रतिबद्धतासहित आएकाले म्याद थप गरेर जाँदा नै ठिक होला भन्ने हो ।’

ठेक्काको अवधि सकिएपछि चिनियाँ कम्पनीका ८ जना उच्च अधिकारी नेपाल आएर बाँकी सडक विस्तारको काम एक वर्ष भित्र नै गरिसक्ने प्रतिवद्धता जनाएको थापाले जानकारी दिए । उनका अनुसार आगामी बर्खाभन्दा अगाडिसम्म ६० किलोमिटरभन्दा बढी पिचको काम सक्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ ।

उनीहरुले देखाएको विश्वास र प्रतिवद्धतालाई मानेर एक वर्ष म्याद थपको प्रक्रियामा गएको महानिर्देशक थापाले बताए । ‘म्याद थप अवधि एक वर्ष भने पनि हामीले हरेक दुई–दुई महिनामा उनीहरुले दिएको कार्यतालिका अनुसार काम भएरनभएको हेर्न सक्छौं, त्यो कमिटमेन्ट पनि पूरा नभए हामीले ठेक्का बीचमा पनि तोड्न सक्छौं’ महानिर्देशक थापाले भने, ‘तर अब कुनै पनि बहानामा ढिलाइ स्वीकार्य छैन ।’

प्रकाशित मिति : १४ भदौ २०७९ मंगलबार ००:००  १ : १२ बजे