२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आज ऋषि पञ्चमी मनाइँदै



काठमाण्डौ ।

आज तीजको अन्तिम दिन अर्थात् ऋषिपञ्चमी । तीज पर्वको अर्को एउटा महत्वपूर्ण दिन । यस दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइन्छ ।
महिलाहरुले आज बिहानै खोला, ताल–तलाउ तथा पानीको स्रोतमा गएर ३६५ वटा दतिवन, माटो, गाईको गोबर आदि प्रयोग गरी स्नान गर्छन् । शुद्ध भएपश्चात अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्छन् ।
आजको दिन ब्रत बस्ने महिलाहरुले दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्छन् । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकाले आजको दिनलाई ऋषिपञ्चमी पनि भनिएको हो ।
पञ्चमी स्नान तथा सप्तऋषिको पूजा विशेष गरी रजस्वला हुने नारीहरुले मात्र गर्छन् । यसदिन गरिएको स्नानले रजस्वला हुँदा भएका गल्तीहरु वा त्रुटिहरु अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न जस्तै सामा, कागुनो, कर्कला आदि खाएर आजको दिन एक छाकि बस्नुपर्ने शास्त्रिय विधान रहेको छ ।
यस दिन महिलाहरु चुलोचौकाको कामबाट अलग भएर निस्फिक्रि भई भजनकिर्तन गर्ने तथा नाचगानमा रमाउँछन् भने पुरुषहरुले भान्छाको काम गर्छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९ बिहिबार ००:००  ७ : २८ बजे