२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेसका युवा नेता आशिषले कपिलवस्तु–२ बाट उम्मेदवारी दिने



मायादेवी अनलाइन, कपिलवस्तु

कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता आशिष शर्माले संघीय निर्वाचन क्षेत्र २ बाट संघीय सांसदको उम्मेदवार हुन निवेदनसहित दाबी पेस गरेका छन् । ३७ वर्षे उनले संघीय क्षेत्र नं। २ का क्षेत्रीय समितिलाई उक्त पदमा दाबी रहेको भन्दै निवेदन दर्ता गरेका छन् ।

उनी पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्यायका छोरा हुन् । उपाध्यायको नाम पनि संघीय सांसदका लागि चर्चा परिचर्चा भइरहेका बेला छोराले पनि उम्मेदवार हुने चाहना राखेका हुन् ।

समक्ष युवा नेतृत्वको पहिचान र प्रोत्साहनको आवश्यकता रहेकाले सांसदको इच्छुक उम्मेदवारको सूचीमा आफ्नो पनि नाम समावेश गरेर पठाउन आग्रह गरेको उनले बताए । कांग्रेसमा आस्था राख्ने हजारौं युवा र १८–४० वर्ष उमेरका ७० प्रतिशत मतदाताको प्रतिनिधित्व गर्नपनि अहिले युवा उम्मेदावरको खाँचो रहेको उनले बताए । निजात्मक स्वार्थ र संकुचित निर्णयले पार्टीलाई अपूरणीय क्षतिको सम्भावना देखिएकाले सुधार आवश्यक औंल्याउँदै पत्र लेखेको उनले बताए ।

युवा नेता शर्माले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टी तथा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गर्न पार्टीले ध्यान दिनुपर्ने ६ बुँदा उल्लेखगरी पत्रमा ध्यानाकर्षण गराएका छन् । ‘आफूले ध्यानाकर्षण गराएको तथ्य व्यक्तिगत मात्र नभएर आम कार्यकर्ताहरुको पनि चाहना हो,’ उनले भने, ‘यो सत्यलाई आत्मसात गरी पार्टीले गम्भिरताका साथ आफ्नो निर्णयमा विचार गरोस् भन्ने आग्रह हो ।’

पार्टीले अवसर प्रदान गरेमा माथिका कमिकमजोरीहरुलाई हटाउन पार्टीमा व्यापक छलफल, आत्मियता र सद्भावको अभिवृद्धिबाट पार्टीको जीत सुनिश्चित गर्ने उद्देश्यले क्षेत्र नं। २ को संघीय संसद पदमा प्रतिस्पर्धा गर्न इच्छुक उम्मेदवारको सूचीमा नाम समावेश गरी अवसर प्रदान गर्नुहुन अनुरोध गरेको उनले बताए ।

प्रकाशित मिति : १६ भदौ २०७९ बिहिबार ००:००  १२ : २६ बजे