१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आर्थिक संकटकाल लागेपछि प्राध्यापक र कर्मचारी कटौती गर्दै रेसुङ्गा क्याम्पस



गुल्मी ।
गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारीलाई कटौती गर्ने भएको छ । ऋणमा डुबे पछि गत साउन २९ गते आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले ९ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो ।

क्याम्पसले पत्रकार सम्मेलनको आयोजना गरि तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि भन्दै प्राध्यापक र कर्मचारी कटौती गर्ने जानकारी दिएको हो ।

क्याम्पसलाई मासिक रुपमा झण्डै ८ लाख रुपैयाँ ऋण बढ्दै गए पछि आफुहरुले आर्थिक संकटकाल घोषणा गरि प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताउनु भयो। संचालक समिति अध्यक्ष भलामीका अनुसार प्राध्यापक तथा कर्मचारीलाई स्वेच्छिक अवकाशको माग गरिएको छ ।

‘हामीले स्वेच्छिक अवकाशको माग गरेर प्राध्यापक तथा कर्मचारीलाई सुविधा दिएका छौं’, अध्यक्ष भलामीले भन्नु भयो, “स्वेच्छिक नचाहेमा अनिवार्य अवकाश गराएर छाड्छौं।” आर्थिक संकटग्रस्त रेसुङ्गा क्याम्पसलाई नगरपालिकाको एक करोड सहयोग उनले स्वेच्छिक अवकाश माग प्राध्यापक र कर्मचारीलाई सुविधा मात्र भएको अधिकार नभएको समेत स्पष्ट पारे। आफुहरुले क्याम्पसलाई भार पुग्ने ठहर गरेका ९ प्राध्यापक तथा कर्मचारीलाई अवकाश गराउने भलामीले बताए ।

भलामीले प्राध्यापक तथा कर्मचारीको नाम अहिले नखुलाउने भन्दै तत्काल आफुहरु निर्मम बन्ने दाबी गर्नु भयो ।

क्याम्पसमा भारी मात्रामा रहेका प्राध्यापक र कर्मचारी कटौती गर्न नीति र नियमले नदिने अनि ऋण कम गर्न कटौती बाहेकको उपाय नभएपछि क्याम्पसमा साउन २९ गते संकटकाल घोषणा गरिएको थियो ।

क्याम्पसलाई आर्थिक रुपमा धरासयी हुनबाट बचाउन आर्थिक संकटकाल घोषणा गरिएको संचालक समिति अध्यक्ष भलामीले बताएका थिए। गुल्मीको रेसुंगा नगरपालिकाले क्याम्पसलाई १ करोड आर्थिक सहयोग गर्ने भए पछि भने केही वोझ कम हुने देखिन्छ । अन्य स्थानीय तहबाट पनि आर्थिक रकम जुटाउन लाग्ने क्याम्पस संचालक समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९ बुधबार ००:००  ४ : ०५ बजे