२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

नेपालगञ्ज उपमहानगरले थाल्यो छाडा पशुचौपाया व्यवस्थापनको पहल



काठमाडौं ।
नेपालगञ्ज शहरमा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल शुरूआत भएको छ ।

यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायाको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना निर्माण गरेको छ ।

बैठकको निर्णयअनुसार यही भदौ महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बङ्गुर) सडकमा छाडा नछोड्न आग्रह र माइकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौ मसान्तपछि पशु चौपाया छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए ।

छाडा पशु चौपायाका कारण नगरको ट्राफिक व्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायालाई अन्यत्र राखेर अल्पकालिन व्यवस्थापनमा तत्काल जुटेको बताए ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमानाका पारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए । ट्राफिक ब्यवस्थापन र नगरको सौन्दर्यका लागि छाडा पशु चौपायाको व्यवस्थापन आवश्यक भएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायाको व्यवस्थापनका लागि अन्तर पालिकासँग समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए ।

नेपालगञ्ज नगर उपप्रमुख कमरुद्धिन राईले छाडा पशु चौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाइका साथ प्रस्तुत हुने बताए ।

नेपालगञ्जमा छाडा छोडिएकामध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजी हाउसमा राखे पनि लिन कोही नआउने कांजी हाउसका कर्मचारीको भनाइ छ ।

गधा, खच्चड र घोडा भने जरिवाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन । छाडा पशु चौपाय कांजी हाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने जनाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९ शुक्रबार ००:००  ४ : १८ बजे