२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

स्काइलार्कमा ‘७ औँ मायादेवी हव कन्भेन्सन’- विद्यार्थीको उत्साहपूर्ण सहभागीता



मायादेवी अनलाइन, ओदारी ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ११ ओदारीमा अवस्थित स्काईलार्क बोर्डिङ्ग स्कुलमा ‘७ औँ मायादेवी हव कन्भेन्सन’ भव्यताका साथ सम्पन्न भएको छ । विद्यार्थी गुणीय चक्र अर्थात विद्यार्थी क्वालिटि सर्कल अन्तर्गतको मायादेवी हव कन्भेन्सन गरेको हो । कार्यक्रममा २ सय बढी विद्यार्थीको उत्साहपूर्ण सहभागीता रहेको थियो । यसप्रकारको कार्यक्रममा पहिलो पटक सहभागी हुन पाएको भन्दै विद्यार्थीले खुसी ब्यक्त गरेका थिए । साथै कार्यक्रमले आफुहरुमा धेरै परिवर्तन ल्याएको पनि उनिहरुले बताएका छन् ।

कार्यक्रममा कपिलवस्तु र रुपन्देहीका ७ विद्यालयले विभिन्न विषयमा केस स्टडीका गरेका थिए भने २ वटा विद्यालय अवलोकनका लागि सहभागी भएका थिए । सहभागी विद्यार्थीले प्यानल डिस्कसनको क्रममा अतिरिक्त क्रियाकलापमा भाग लिने, विद्यालयमा अनुपस्थित हुनुको कारण, भाषा शुद्धताको कमी जस्ता समस्या उठाई समाधानका लागि गर्नुपर्ने उपायहरुको बारेमा आफै प्रोजेक्टर मार्फत स्पष्ट पारेका थिए । जुन क्रियाकलाप एस.क्यु.सी.को महत्वपुर्ण मानिन्छ ।

त्यस्तै विद्यार्थीहरुको स–साना समुह बनाएका थिए जसले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवम् अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने खालका विभिन्न क्रियाकलापमा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा क्विज, हिज्जे, अभिनय, अन्य विधा गरि ९ विधामा प्रतियोगिता गरिएको थियो । उत्कृष्ट सम्पुर्ण विद्यार्थीहरुलाई मायाको चिनो, प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय ईकाई समिति कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे र समापन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले यो कार्यक्रमले विद्यार्थीहरुमा श्रृजनशील क्षमताको विकास हुने बताउनुभयो ।

उहाँहरुले यस्ता कार्यक्रम जिल्ला भरि नै आयोजना गरि सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएमा विद्यार्थीहरुको चौतर्फी विकास हुने बताउदै एस.क्यु.सी. कपिलवस्तुमा अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी, स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलका सल्लाहकार संयोजक रबि बहादुर काफ्ले, प्याब्सन केन्द्रिय सदस्य लेखनाथ पौडेल, प्याब्सन कपिलवस्तुका पुर्व जिल्ला अध्यक्ष शिव गैरे, प्याब्सन बाणगंगाका अध्यक्ष सुरेन्द्र पाण्डे, क्वेस्ट नेपालका सल्लाहकार दिपक गौतम, विभिन्न सदस्य विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक लगायतले मन्तब्य राख्दै कार्यक्रमबाट विद्यार्थीहरुले धेरै कुरा सिक्ने अवसर पाएको र सिक्ने ईच्छा शक्तिमा समेत वृद्धि भएको भन्दै कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।

त्यस्तै मायादेवी हव कन्भेन्सनका हव संयोजक तथा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलका प्रिन्सीपल तोलाकान्त डुम्रेले कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार लगाएत सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम निकै फलदायी तथा प्रभावकारी भएको बताउनुभयोे । कन्भेन्सन मास्टर ट्रेनर समेत रहनुभएका डुम्रेले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र भन्दा अतिरिक्त क्रियाकलपमा समेत सहभागी गराउन सकियो भने उनीहरुको चौतर्फी विकास हुने बताउनुभयो ।

उहाँले विधार्थीहरुलाई श्रृजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको र अन्र्तराष्ट्रिय स्तरका विद्यार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन समेत विद्यार्थीहरु सक्षम भएको बताउनुभयो । यस्ता कार्यक्रम अब जिल्लाका अन्य विद्यालयले पनि संचालन गर्नुपर्ने बताउनुभयो ।

कन्भेन्सनका सहायक निर्देशक तथा ईभेन्ट म्यानेजर धुर्व प्रसाद नेपालले सम्पुर्णलाई स्काईलार्कमा स्वागत गर्दै मन्तब्य राख्नुभएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख केशव पुरीको सहजिकरण तथा शिक्षक राम प्रसाद अधिकारीको सञ्चालनमा मायादेवी हव कन्भेन्सन सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७९ शनिबार ००:००  ६ : २९ बजे