२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

गठबन्धनले लोकतन्त्र धरापमा पारेको राजेन्द्र लिङदेनको आरोप



काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप लगाएका छन्।

मंगलबार बिहान पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको बताएका हुन्।

नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको मिलिजुली खानका लागि बाहेक मुलुकका हितका लागि केही उपलब्धि नहुने उनको भनाइ छ।

‘मुलुक विदेशीहरूको चंगुलमा फसाउने र लम्पसार पर्ने बाहेक केही हुन सकेको छैन’, उनले भने, ‘जति शासन गरे पनि एक हजार जना युवायुवतीले रोजगारी पाउने ठाउँ खोल्न सकेका छैनन्। दैनिक हजारौँको संख्यामा युवायुवती विदेशिन बाध्य छन्।’

अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे।

मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको बताउँदै आगामी निर्वाचनमा मत दिएर विजयी बनाउन समेत उनले आग्रहसमेत गरे।

राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको उनको भनाइ छ।

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले, माओवादीले तीस वर्षभन्दा बढी शासन गरे पनि नयाँ शब्दबाहेक काममा नयाँपन ल्याउन नसकेको बताए।

उनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिकास्तरीय कार्यालयको उद्घाटन गरेका थिए।

प्रकाशित मिति : २८ भदौ २०७९ मंगलबार ००:००  ३ : २४ बजे