१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

महिला साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै



काठमाडौं

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।

महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ ।

पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ । अघिल्ला संस्करणमा सधै फाइनलमा स्तब्ध हुँदै आएको नेपाल घरेलु मैदानमा भने उपाधि जित्न चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताईसकेका छन् ।

’यो साफको लागि भावनात्मक, मानसिक र शारीरिक रुपमा धेरै मेहेनत गरेका छौँ । हाम्रो लागि साफको स्टार जर्सी लगाउने सपना छ,’ प्रशिक्षक थापाले आइतबार भनेका थिए, ’त्यसको लागि जे पनि गर्नेछौँ । चाहे विरामी खेलाडी रिकभरी गरेर हुन्छ की केहि गरेर हुन्छ । हाम्रो लक्ष्य नै ट्रफी बाहिर जान नदिने हो ।’

सेमिफाइनलमा भारतलाई हराएको कारण समेत नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ । यस्तै इतिहासको पानामा समेत नेपाल बंगलादेशविरुद्ध अपराजित छ ।

हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ । महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ ।

इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ । फाइनलमा समेत बंगलादेश त्यहि लयलाई कारण गर्न चाहन्छ । बंगलादेशका मुख्य प्रशिक्षक गोलोम रिब्बानीले फाइनलका लागि आफुहरु तयार रहेको बताईसकेका छन् ।

’हामीलाई बंगलादेश फुटबलले सबै सपोर्ट गरेको छ । हामी मानिसिक रुपमा फाइनलका लागि तयार छौँ । अह्मिले दुई दिन धेरै रिफ्रेस गर्यौं । नेपाल बलियो टिम हो । घरेलु टोलीलाई जित्न सधै कठिन हुन्छ । खेल प्रतिस्पर्धात्मक हुन्छ,’ उनले भने ।

प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो । बंगलादेशले भने भुटानलाई सेमिफाइनलमा स्तब्ध बनाएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९ सोमबार ००:००  ७ : ३५ बजे