१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

समानुपातिकतर्फ ४८ दलले बुझाए सूची



काठमाण्डौ ।

निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । अस्ति आइतवार र हिजो दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार अघि बिहान ५ बजेसम्म बन्दसूची दर्ताको काम भएको छ ।

प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, वाग्मती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ । छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्नेछ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् ।

छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ सम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।

दलले बुझाएको विवरणमा समूह फरक परेको, उम्मेदवारको स्वघोषणा नभएको, नागरिकता, मतदाता परिचयपत्र नरहेको भए संशोधन गरेर ल्याउन समय दिइने समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो ।

प्रकाशित मिति : ४ आश्विन २०७९ मंगलबार ००:००  ८ : ४४ बजे