१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

टेण्डर नपरेपछि दाङबाट पहाडी जिल्लामा चामल ढुवानी भएन



दाङ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर दाङले चामल ढुवानी गर्न सकेको छैन ।

दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले टेण्डर आह्वान गरेको थियो । तर कसैले पनि टेण्डर नहालेपछि चामल ढुवानी अन्योलमा छ ।

दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताउनुभयो । उहाँका अनुसार रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो।

पहाडी जिल्लामा चामल पुर्याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले तुलसीपुरमा झण्डै चार हजार आठ सय क्विन्टल चामल मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुम पूर्व र रुकुम पश्चिममा चामल पठाएको छ।

ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उहाँले बताउनुभयो । चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ । चालममा प्रतिकिलो सात रुपैयाँका दरले छुट दिएको उहाँले बताउनुभयो । सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९ शुक्रबार ००:००  १ : ३१ बजे