१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

गाउँपालिकाद्वारा विद्युत् महसुल तिरिदिन सुरु



गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेको छ । पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोवास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो ।

पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रयोग गर्नेहरूको हकमा न्यूनतम २० युनिटसम्मको महसुल रकम भुक्तानी गरिदिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो । पालिकाले भुक्तानी गरेको रकम साउन, भदौ र असोज गरी तीन महिनाको गरेर सात लाख ३२ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।

कुनै पनि नागरिक विद्युतको पहुँचबाट टाढा नरहुन् भन्ने उद्देश्यले विद्युत् महसुल भुक्तानीका लागि यस आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष तारा थापाले बताउनुभयो । थापाका अनुसार यो कार्यक्रमले पालिकाभित्रका विपन्न नागरिकमा थप राहत पुगेको छ ।

विद्युत् महसुल भुक्तानीका साथै गाउँपालिकाले प्रसूति हुने गर्भवती महिलालाई निःशुल्क गाडीको सुविधा र टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ । त्यसैगरी विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा, ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्य परीक्षण, बालबालिकासँग गाउँपालिकालगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ६ : ३४ बजे