६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेपालमा पहिलो पटक हुँदैछ यस्तो खेल



मायादेवी अनलाइन, बाणगंगा ।
प्रकृति र पर्यावरणमा रमाउने साहसिकहरुको रोजाईमा पर्ने मध्येको एक खेल हो ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता ।

साइकल पारखीको रोजाइमा पर्ने यो खेल विश्वका धेरै देशमा भए पनि नेपालमा भने अहिलेसम्म भएको छैन । विश्वमा साइकल पारखी बढ्दै जाँदा नेपालमा पनि पछिल्लो समय साइकल पारखीहरु दिनप्रतिदिन बढ्दै गएका छन् । साइकल चलाउनेमा बच्चादेखि वृद्धसम्मको उत्तिकै मोह देखिन्छ । यसकारण पनि अहिले मुलकमा छोटो दुरीदेखि लामो दुरीमा साइकल चलाउने प्रतियोगिता भइ नै रहेका हुन्छन् ।

स्थानीय पालिकाले पनि पर्यटन प्रवद्धन गर्ने महत्वपूर्ण सेतुको रुपमा कोरा साइक्लिङ लगायतका प्रतियोगिता आयोजना गरिरहेका हुन्छन् । साइकल चलाउने अधिकांसलाई साइकलको सहायताले खेलिने खेल भनेको कि ‘लक्ष्य द्रुत भेट्ने’ साइक्लिङ हो कि त ‘स्लो साइक्लिङ’ नै हो भन्ने मात्र थाहा छ । आम सर्वसाधारणमा रहेको यो धारणाबाट माथि उठेर साइकलको सहायताबाट खेलिने अरु खेल पनि छन् भन्ने चिनाउन र बुझाउन लायन्स क्लव अफ कपिलवस्तुले नेपालमै पहिलोपटक साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता आयोजना गर्न थालेको छ ।

बाणगंगा नगरपालिकाको पर्यटकीय चिनारी वडा नम्बर ३ मा रहेको राजापानीमा वडादशैँको अवसरमा असोज १५ गते एक दिनको लागि यो प्रतियोगिता हुने छ । ठूलै पुरस्कार राशी राखिएको यो प्रतियोगितामा साइक्लिङमा रमाउने देशभरका ५ सय बढी खेलाडीले भाग लिने आयोजकले जनाएको छ भने १० हजार बढी दर्शक सहभागि हुने अनुमान गरिएको छ । स्थानीय क्षेत्रमा बढ्दो साइकल मोह, स्वास्थ्यको लागि साइकल चलाउने बानीको विकास गर्न र वाणगंगाको राजापानीलाई देशभर चिनाउन यो प्रतियोगिता गर्न लागिएको क्लवले जनाएको छ ।

के हो ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता ?

यो खेल ठुलो पोखरीमा पानीमाथि ट्याक बनाएर त्यसैमा साइकल गुडाएर खेलिने खेल हो । त्यसको लागि चार फिट गहिरो पानीको सतह, त्यसमाथि ५२ मिटर लम्बाई, ९ इन्च चौडाईको काठको ट्रयाक बनाइन्छ । यो पोखरीमाथि काठको सानो ट्रयाक बनाएर त्यसैमा साइकल गुडाएर खेल्ने गरिन्छ । निर्धारित दुरी जसले चाँडो पार गर्छ त्यो नै विजेता हुने खेलको नियम हुन्छ । ‘बढी साहसिकहरुले पानीको सतह अझै गहिरो पनि बनाउन सक्छन् भने ट्याक पनि साँघुरो बनाउन सक्छन’ खेलाडीहरु भन्छन् ।

इन्डोनेसिया फिलिपिन्स, म्यानमार, भियतनाम, थाइल्याण्ड र मलेसियामा एडभेञ्चरको रुपमा यो खेल हुने गर्दछ । धेरै खेलाडीले निर्धारित दुरी पार गर्न नसक्ने र विचैमा लड्ने भएकाले खेलाडी नडुब्ने गरी ४ फिट पानीको सतह कायम गरिएको आयोजकले बताएका छन् । १५ सय रुपैयाँको फारम भरेर यसमा १२ बर्षमाथिका दीर्घ रोग नभएका जोसुकैले सहभागिता जनाउन पाउने छन् । आफ्नो साइकल नभए फारम भरेर आयोजकको साइकल प्रयोग गरेर पनि खेलमा भाग लिन सकिने संयोजक घिमिरेले बताए ।

कसरी सुरु भयो त यो धारणा ?

विगत २ दशकदेखि साइकल व्यवसाय गरिरहेका क्लवका सदस्य तथा साइकल सोसाइटी कपिलवस्तुका संयोजक लायन विष्णु घिमिरे आफैमा साइकल राइडर हुन् । विश्व साइकल यात्री पुष्कर शाहसंगै रहेर उनले धेरै प्रतियोगितामा सहभागिता जनाएका छन् ।

उनैको प्रेरणामा अहिले वाणगंगा नगरपालिकामा साइकल चलाउने पारखीहरु बढिरहेका छन् । घिमिरे भन्छन् ‘फेसबुक र युटुभमा यसखाले प्रतियोगिता देखेको थिएँ । खेल्दा र हेर्दा पनि निकै रोमाञ्चक, यसो हेर्दा मिहिनेत गरे असम्भव जस्तो पनि लागेन । त्यसपछि कसरी गर्ने भन्ने कौतुहलता बढ्यो । आफू पनि लायन्समा आवद्ध र धेरै साथीहरु पनि यहीँ रहेको हुँदा क्लवबाट गर्नुपर्छ लाग्यो अनि साथीहरुसंग अवधारणा सेयर गरेँ । सबैले सम्भव हुन सक्ने भन्नुभयो अनि प्रतियोगिता गर्न कस्सियौँ ।’

यसमा क्लवका अध्यक्ष राम शुभागे थारुको धेरै ठुलो भूमिका रहेको उनले बताए । यस बर्षको अध्यक्ष निकै डायनामिक र नयाँ नयाँ काम गर्न रुचाउने हुनुहुन्छ । सुन्नेवित्तिकै लौ गर्नुपर्छ भनेर संकल्प गर्नुभयो र मिटिङबाट निर्णय गराउनुभयो । खेलको लागि ठुलो पोखरी जरुरी रहेको हुनाले उपयुक्त ठाउको रुपमाँ राजापानीलाई छान्यौँ र काम अघि बढायौँ,उनले भने । संयोजक घिमिरेले नेपालमा यसअघि यो खेल भएको आफूले थाहा नपाएको बताए ।

अध्यक्ष शुभागे भन्छन् ‘प्रतियोगिताको कारण जिल्ला नै उत्साहित छ’

क्लवका अध्यक्ष राम शुभागे थारुले प्रतियोगिताको लागि धमाधम काम भइरहेको बताए । प्रतियोगिताको लागि अहिले प्रचारप्रसार, पोखरीमा पानी माथि ट्रयाक बनाउने, सरसफाइ, मञ्च व्यवस्थापन लगायतको काम भइरहेको उनले बताए ।

जोखिमपूर्ण खेल भएकाले लाइफ ज्याकेट, हेल्मेट, सुरक्षा, एम्बुलेन्स लगायतको व्यवस्थापन आयोजकले नै गरेको हुँदा ढुक्कसंग भाग लिन अध्यक्ष थारुको सबैमा आग्रह छ । प्रतियोगिता सम्पन्न गर्न क्लवका पूर्व अध्यक्ष, पदाधिकारी लगायत सदस्यहरु रातदिन खटिएको उनले बताए । यो खेलको लागि स्थानीय सरकार, राजापानी सामुदायिक वन लगायतले पनि सहयोग गरेको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लाग्ने अध्यक्ष थारुले बताए । खेलाडी दुर्घटनामा परेको खण्डमा प्राथमिक उपचारको ब्यवस्था आफूहरुले गर्ने उनको भनाई छ ।

यस्तो छ पुरस्कार ?
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार र चौथो हुनेले स्मार्ट घडी प्राप्त गर्ने अध्यक्ष थारुले बताए । दर्शकको लागि भने कुनै शुल्क नराखिएको क्लवले जनाएको छ । प्रतियोगिता विहान १० बजेबाट सुरु हुने छ । साथै अरु सहभागीहरुको लागि प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : ५४ बजे