८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रविदत्तलाई प्रश्नः कपिलवस्तुमा लोसपा सकिएकै हो ?



मायादेवी अनलाइन, बाणगंगा ।
असोज ११ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सिंगो जिल्ला कमिटी एमालेमा प्रवेश गरेको घोषणा गरिएको छ । तर पार्टीका केन्द्रीय नेता रविदत्त मिश्राले यो प्रपोगाण्ड मात्र भएको टिप्पणी गरेका छन् ।

मायादेवी अनलाइनले कपिलवस्तुमा लोसपा सकिएकै हो ? भनेर सोधेको प्रश्नमा उनले केही व्यक्तिले पार्टी छाड्दैमा पार्टी नसकिने बताए ।

‘राजनीति एजेण्डा र मुद्धामा हुन्छ । यो देशमा मधेस र मधेसीका तमाम मुद्धा सम्बोधन भएका छैनन् । कांग्रेस, एमालेले समस्या आफै ल्याउने, समाधान आफै नगर्ने गरिरहेका छन् । हामीले उठाएका मुद्धा सम्बोधन नभइकन कसरी पार्टी सकिन्छ ? उनले प्रतिप्रश्न गर्दै भने, ‘शक्ति र स्वार्थका लागि कतिपय साथीहरुले पार्टी छाड्नुभएको साँचो हो, हाम्रो पार्टी सकिएको छैन् ।’

पार्टीका जिल्ला अध्यक्ष कैलाश अग्रहरी, नेता मधुसुदन चौधरी लगायतले लोसपा परित्याग गरी सिंगो जिल्ला कमिटी नै एमालेमा समाहित भएको घोषणा गरेका थिए ।

अग्रहरी लामो समय मधेस आन्दोलनमा सक्रिय भएका नेता थिए । अग्रहरीले पार्टी छाड्दै मधेसी दलमा जातीवाद, आफन्तवाद हावी भएको टिप्पणी गरेका थिए ।

चौधरी आसन्न प्रदेशसभामा उम्मेद्वार सिफारिस भएका नेता थिए । ०७४ सालमा झिनो मतान्तरले प्रदेशसभामा चुनाव हारेका उनलाई यो निर्वाचनमा लोसपाबाट बलियो उम्मेद्वारका रुपमा हेरिएको थियो । यद्यपि लोसपा त्यागे पनि एमालेबाट उनी मंसिर ४ को निर्वाचन लड्ने पक्कापक्की छ ।

कुनै समय लोसपाको लिगेसी बोकेको तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) कपिलवस्तुमा बलियो थियो ।

०६४ सालको निर्वाचनमा ५ निर्वाचन क्षेत्र मध्ये तीन क्षेत्रमा यो पार्टीले चुनाव जितेको थियो । बृजेश कुमार गुप्ता, दान बहादुर चौधरी, ईश्वरदयाल मिश्रा जस्ता प्रभावशाली नेता यस पार्टीमा थिए ।

महन्थ ठाकुर नेतृत्वमा रहेको हालको लोसपा ०७९ सालमा आइपुग्दा अत्यन्तै कमजोर देखिएको छ । गत स्थानीय तहको निर्वाचनमा खासै प्रभाव पार्न नसकेको लोसपाले शुद्धोधन गाउँपालिकाको अध्यक्ष भने जितेको थियो ।

कुल ९६ वडा मध्ये जम्मा दुई वडामा मात्र यस पार्टीले चुनाव जितेको छ ।

लोसपाका केन्द्रीय नेता मिश्राले पार्टीको कार्यवाहक अध्यक्ष ओमकार शुक्ला रहेको बताए ।

पार्टीमा आफू र पूर्व मन्त्री अकवाल शाह लगायतका नेताहरु र आम कार्यकर्ता रहेकाले पार्टी अरुले भने जस्तो कमजोर नभएको उनको दावी छ ।

‘पार्टी कसैको गोजीमा हुँदैन्, केही व्यक्ति जादैमा पार्टी सकिदैन् उनले भने, ‘नेता गए पनि पार्टीका कार्यकर्ता हाम्रै बीचमा छन् ।’

एमाले प्रवेश गरेका नेताहरुमा आन्दोलन प्रति वितृष्णा र निरासा छाएको कारण पार्टी छाडेको उनले बताए ।

‘साथीहरु निरास हुनुभयो । अब यो पार्टीबाट मन्त्री र सांसद बन्न सकिदैन् भन्ने लाग्यो । आखिर राजनीति यसैका लागि हो त ? उनले भने, ‘हाम्रो मुद्धा सकिएको छैन् ।’

यो पनि पढ्नुहोस्…

कपिलवस्तुमा खुम्चिदै तराई केन्द्रित दल

प्रकाशित मिति : १७ आश्विन २०७९ सोमबार ००:००  १२ : ११ बजे