१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेसको गढ अन्य दललाई दिइए ठूलो क्षति हुन्छ : केन्द्रिय नेता खड्का



काठमाडौँ ।
गठबन्धनका नाममा कांग्रेसको गढ अन्य दललाई बुझाउने काम भए ठुलो क्षति हुने नेता भरत बहादुर खड्काले चेतावनी दिएका छन् । शेखर गगन पक्षको भेलामा सहभागी नेता खड्काले कांग्रेसको वर्चस्व भएको क्षेत्रमा गठबन्धनको उम्मेदवार दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘जहाँ कांग्रेसको वर्चस्व छ त्यहाँ गठबन्धनको उम्मेदवार दिइएको छ । त्यहाँका मतदाताहरू ३० औँ हजार ४० औँ हजार त्यसमा मत दिने पक्षमा छैनन् । त्यो संवेदनशीलतालाई पार्टी सभापतिले अझै बुझ्नु पर्छ’, उनले भने ।
२३ गते मनोनयन दर्ता गर्ने समय सिमा तोकिएको छ । खड्काले अझै केही दिन बाँकी रहेको भन्दै सभापति शेरबहादुर देउवालाई सुधार गर्न सुझाव दिए ।
‘२ दिन समय छ अझै पनि सुधार गर्नुपर्छ । ती ठाउँमा कांग्रेसकै उम्मेदवारहरूलाई टिकट दिँदा कांग्रेसलाई फाइदा हुन सक्छ । यदि त्यसो नभए भने कांग्रेसलाई धेरै ठुलो क्षति हुन्छ’ उनले भने, ‘न्यायोचित तरिकाले सन्तुलन कायम राख्ने गरि सभापतिज्यू जानुपर्छ ।’आवश्यकता र औचित्यको आधारमा टिकट दिनु पर्नेमा उनले जोड दिए । उनले स्थानीय तहमा प्रतिशत माग नगरिएको भन्दै यस पटक सिट बाँडफाँडमा आफ्नो पक्षलाई ४० प्रतिशतको हुनुपर्नेमा जोड दिए । ‘भएन भने समस्या आउँछ । ठूलो क्षति हुन्छ’ उनले चेतावनी दिए ।
यस अघि असोज ८ गते को खबरदारी भेलामा पनि शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्नेमा उनले जोड दिएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७९ बिहिबार ००:००  ५ : ०२ बजे