२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

गोरुसिंगे-सन्धिखर्क सडक अवरुद्ध, दर्जनौ ठाउँमा पहिरो, जोखिममा परेका मानिसको उद्धार



हरि अधिकारी, कपिलवस्तु ।
लगातारको अविरल वर्षापछि अर्घाखाँचीमा पहिरो खस्दा गोरुसिंगे-सन्धिखर्क सडक खण्ड अवरुद्ध भएको छ । दशैंको टिकाको दिनदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डको विभिन्न स्थानमा पहिरो र सडक भत्किएपछि गोरुसिंगे-सन्धिखर्क सडक खण्ड अवरुद्ध बनेको हो ।

दशैंमा टिका थाप्न गएका र आएका मानिसहरु घर फर्किन पाएका छैनन् । पहिरोका कारण यातायातका साधनहरु नियमित संचालन हुन सकेका छैनन भने ठाडा, नरपानी र फुदवाङ्गमा गाडीहरुलाई रोक लगाइएको छ । शितगंगा नगरपालिका ४ बरकोट, वेथरी जंगलमा पहिरो खस्दा सडक खण्ड केही बेर अवरुद्ध भएको छ । सडक खुल्ने र बन्द हुने क्रम रोकिएको छैन ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगता, वडा नम्बर ७ घुम्तीमा ठुलो पहिरो खस्दा अवरुद्ध सडक खण्ड खुलाउन डोजर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रवक्ता प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रवक्ता घिमिरेका अनुसार अर्घाखाँचीका भित्री सडक खण्डमा समेत ठुला पहिरोहरु गएका छन् । जिल्लास्थित सुरक्षा निकायको सकृयतामा सन्धिखर्क नगरपालिका र सडक विभागको समन्वयमा बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरो, सडक भत्किदा सन्धिखर्क नगरपालिका, पाणीनी गाउँपालिका, छत्रदेव गाउँपालिकाका सयौं घरहरु जोखिममा परेका छन् ।

घरहरु जोखिममा परेपछि मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । साथै ती घरमा रहेका पशु चौपायालाई सुरक्षित स्थानमा लगिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९ शुक्रबार ००:००  १ : ५१ बजे