१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सनस्क्रिन लगाउँदा गर्न नहुने १२ गल्तीहरु



काठमाडौं ।

हामी मध्ये धेरैलाई के लाग्छ भने घामको असर भनेको गर्मीमा मात्र हुन्छ, जाडोमा हुँदैन । कतिपयको सनस्क्रिन गर्मीमा मात्र लगाउने भन्ने गलत सोच समेत रहेको हुन्छ । यहाँ सनस्क्रिन रोज्दा र लगाउँदा गर्न नहुने गल्तीहरु बारे उल्लेख गरेका छौँ ।

१. गर्मीमा जस्तै जाडोमा पनि हाम्रो छालालाई घामबाट जोगाउनुपर्ने हुन्छ । जाडोमा सनस्क्रिन लगाउनु पर्दैन भन्ने सोच गलत हो । घामको विकिरण जसलाई हामी यूभीए र यूभीबी भन्छौँ, यस्ता हानीकारण विकिरणले हाम्रो छालालाई असर गर्छ । यस्ता विकिरणले हाम्रो छालामा चाउरीपन देखिने, कोठीहरु आउने, कालो दाग देखिने गर्दछ । त्यसैले जाडोमा पनि सनस्क्रिन लगाउनु पर्ने उत्तिकै आवश्यकता छ ।

२. सनस्क्रिन बाहिर निस्किनु ठ्याक्क अगाडि लगाउनु पनि अर्को गल्ती हो । सनस्क्रिन छालामा सेट हुनको लागि १५ देखि २० मिनेट लाग्छ । त्यसैले कम्तीमा पनि बाहिर निस्कनु १५ देखि २० मिनेट पूर्व सनस्क्रिन लगाउनु पर्दछ ।

३. कोठाभित्र बस्दा सनस्क्रिन लागउनु पर्दैन भन्नु पनि गल्ती हो । कोठा भित्र पनि घामको विकिरणहरु हुन्छन्, यसबाट बच्न कोठा भित्र बस्दैछौँ भने पनि सनस्क्रिन लगाउनु जरुरी हुन्छ ।

४. त्यस्तै हामीले गर्ने अर्को गल्ती भनेको धेरै कम एसपीएफ भएको सनस्क्रिन लगाउने । हामीले कम्तीमा पनि एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन लगाउनु पर्दछ । एसपीएफको पूर्ण रुप भनेको सन प्रोटेक्सन फ्याक्टर हो । यसले हाम्रो छालालाई कति प्रतिशत जोगाउँछ भन्ने जनाउँछ । एसपीएफ ३० ले ९७ र एसपीएफ ५० ९८ प्रतिशत छालालाई जोगाउँदछ ।

५. अर्को ध्यान दिनुपर्ने कुरा भनेको हामीले जहिले पनि ब्रोड स्पेक्टम लेखेको सनस्क्रिन प्रयोग गर्नुपर्दछ । यस्तो सनस्क्रिनले यूभीए र यूभीबी दुवै विकिरणबाट जोगाउँदछ ।

६. अर्को गल्ती हो एकदम थोरै सनस्क्रिन प्रयोग गर्ने । सनस्क्रिन मुखमा, घाँटीमा प्रयोग गर्दा कम्तीमा पनि आधा चम्चा सनस्क्रिन प्रयोग गर्नुपर्ने हुन्छ ।

७. त्यस्तै हामीले बिहान एक पटक मात्र सनस्क्रिन लगाउने गर्छौँ, यो अर्को गल्ती हो । कम्तीमा पनि २र३ घण्टाको अन्तरमा सनस्क्रिन लगाउनु पर्दछ । हामीले धेरै जसो लगाउने सनस्क्रिन भनेको केमिकल सनस्क्रिन हो र यस्तो सनस्क्रिनमा भएको पदार्थलाई वातावरणका तत्वहरुले मेटाईदिन्छ । त्यसै हरेक २ देखि ३ घण्टामा सनस्क्रिन लगाउनु पर्दछ ।

८. अर्को गल्ती भनेको एक पटक सनस्क्रिन लगाएपछि अर्को पटक लगाउँदा मुख धुने बानी । यसले गर्दा हाम्रो छाला बढी सुख्खा हुने गर्दछ ।

९. त्यस्तै सनस्क्रिनले नै हाम्रो अनुहारलाई अथवा जिउलाई घामबाट पूरै सुरक्षा दिन्छ भन्ने सोचाई पनि गलत हो । घाममा निस्किँदा छाता ओढ्ने र ह्याट लगाउने बानि पनि गर्नुपर्दछ ।

१०. अर्को गल्ती भनेको मोस्चराइजर र मेकअपमा भएको एसपीएफले हामीलाई पूर्ण सुरक्षा दिन्छ भन्ने सोचाई ।

११. बेलुका पनि सनस्क्रिन लगाउनु अर्को गल्ती हो । बेलुका ४ बजेपछि लगाइएको सनस्क्रिनको खासै काम हुँदैन । त्यसले राम्रो भन्दा नराम्रो असर गर्दछ ।

१२. गलत खालको सनस्क्रिनको प्रयोग गर्नु अर्को गल्ती हो । यसको प्रयोग गर्दा हामीले आफ्नो छालाको प्रकार बुझेर मात्र प्रयोग गर्नुपर्दछ ।

डा. प्रकाश आचार्य, छाला तथा यौन रोग विशेषज्ञ

प्रकाशित मिति : २५ आश्विन २०७९ मंगलबार ००:००  ११ : २८ बजे