मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको प्रतिनिधि सभा-३ मा चार जना उम्मेदवार बीच प्रतिस्पर्धा देखिएको छ । आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चार पार्टीका चार उम्मेदवार बीच प्रतिस्पर्धा देखिएको हो ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले पटक पटक चुनाव जित्दै आएको यो क्षेत्रमा नेकपा एमालेका मंगल प्रसाद गुप्ता पनि प्रतिस्पर्धामा छन् ।
शाह र गुप्ता बीच ०७४ मा पनि प्रतिस्पर्धा भएको थियो । शाह कांग्रेसका उम्मेदवार थिए भने गुप्ता संघीय समाजवादी पार्टीका । शाहले चुनाव जित्दा गुप्ता दोस्रो स्थानमा आएका थिए ।
शाह यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । उत्तर तिर एमालेको बलियो संगठन र दक्षिणमा आफू समर्थित कार्यकर्ताको साथले यो निर्वाचन आफ्ना लागि सुखद रहेको उनको दाबी हुँदै आएको छ ।
शाह र गुप्ता जस्तै अर्का बलिया उम्मेदवार हुन् इश्वर दयाल मिश्र । जनता प्रगतिशिल पार्टीका केन्द्रीय महासचिव रहेका मिश्र ०६४ सालको संविधानसभा सदस्यमा तत्कालिन क्षेत्र नं. ४ बाट चुनाव जितेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीबाट चुनाव जितेका मिश्र ०७४ मा बाम गठबन्धनबाट यो क्षेत्रमा उम्मेदवार बनेका थिए । चुनावी नतिजामा तेस्रो स्थानमा आएका उनलाई पनि प्रतिस्पर्धी उम्मेदवारका रुपमा हेरिएको छ । राज्यमन्त्री हुँदा आफूले गरेको काम र जनता बीच निरन्तरको सक्रियताले अहिले चुनाव जित्नेमा उनी आशावादी देखिन्छन् ।
बैशाख ३० को स्थानीय तह निर्वाचनमा खासै यो पार्टीको खासै उपस्थिति नदेखिए पनि एउटा वडाध्यक्ष जित्न सफल भएको थियो । व्यक्तिगत प्रभावलाई नै आधार मानेर मिश्र यो निर्वाचनमा होमिएका हुन् ।
आसन्न चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यस क्षेत्रमा बलियो उपस्थितिमा देखिएको छ । राप्रपाबाट प्रकाश रजौरिया उम्मेदवार छन् । स्वर्गीय गुरुप्रसाद रजौरियाको प्रभाव रहेको यो क्षेत्रमा राप्रपा पनि बलियो छ ।
बैशाख ३० को निर्वाचनमा राप्रपाले शिवराज नगरपालिकाको मेयर जितेको छ । विजयनगर गाउँपालिकामा दोस्रो स्थानमा आएका जानकी प्रसाद यादव यही पार्टीको प्रदेश सभा ‘ख’ बाट चुनावमा लडेका छन् ।
कृष्णनगर नगरपालिकामा राप्रपा दोस्रो स्थानमा आएको थियो ।
उम्मेदवार आफै पनि सरल र भद्र रहेकाले यो निर्वाचनमा राप्रपाले चुनाव जित्ने दाबी सो पार्टीको छ ।







प्रतिक्रिया