२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

रूपन्देही-२ मा राष्ट्रिय जनमोर्चाले नेमकिपालाई समर्थन गर्ने



रुपन्देही ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले रूपन्देही- २ मा सत्तारूढ गठबन्धनले समर्थन गरेका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ।

यसअघि सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेजी भएपछि सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गर्ने निर्णय गरेको थियो।

गत बुधबारमात्रै सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

उक्त विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समेत हस्ताक्षर गरेको भए पनि केसीले उक्त हस्ताक्षर भुलबस गरिएको भन्दै जनमोर्चाले थापालाई समर्थन नगर्ने जनाएका हुन्।

केसीले शुक्रबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनको संयुक्त विज्ञप्तिमा आफ्नो हस्ताक्षर भुलबस भएको बताएका छन्।

केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा रूपन्देही क्षेत्र नं -२ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई आफूहरूको समर्थन रहेको स्पष्ट पारेका हुन्।

बुटवल उपमहानगरपालिकाका १ देखि १३ वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ र सैनामैना नगरपालिकाका १ देखि ४ नं। वडा रहेको रूपन्देही क्षेत्र नं।-२ मा नेकपा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७९ शुक्रबार ००:००  ४ : ०९ बजे