४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

विकासका लागि शान्ति र सुशासन आवश्यक छ : गृहमन्त्री खाँण



बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् ।

उनले मुलुकमा तीव्र विकासको जरुरी रहेको जनाउँदै अब सबैले जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।खाँणले जनभावना अनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाई विकसित बनाउन ५ दलीय गठबन्धन गरिएको समेत दाबी गरे ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं ५ दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिवार नेपाल पूर्व प्रहरी संगठन, जिल्ला समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको छलफलमा बोल्दै वर्तमान सरकार र गठबन्धनले मुलुकको हीतका लागि काम गरेको र आउँदा दिनमा पनि गर्ने बताए ।

खाँणले पूर्व प्रहरीहरूलाई अवकाशपछि पनि गतिशील बनाउन सकिए राष्ट्र र स्वयं व्यक्ति समेत लाभान्वित हुने बताए । ‘सेवामा रहँदा होस् वा अवकासपछि होस्, यहाँहरूको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ,’ गृहमन्त्री खाँणले भने ।सरकारले सेवामा रहँदा वा नरहँदा प्रहरी र अन्य सबै कर्मचारीको सम्मान गर्ने र उनीहरूको वृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता उनले जनाए ।

५ दलीय गठबन्धनले शनिवार भैरहवा र ओमसतियामा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थयसँगै कृषि क्षेत्रमा पनि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सरकारले यहाँको कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा आधुनिकीकरणसँगै क्षेत्र विस्तार जरुरी रहेको जनाए । ‘यसका लागि वर्तमान सरकार र निर्वाचनपछि बन्ने ५ दलीय गठबन्धनको सरकार पनि कटिबद्ध हुनेछ,’ खाँणले भने, ‘कृषि क्षेत्र फस्टायो भने मुलुक पक्कै पनि आत्मनिर्भर बन्दै जानेछ ।’
रुपन्देहीको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सेमलारमा देशकै ठूलो कृषि थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको उनले बताए । उनले कृषि थोक बजार स्थापनापछि तरकारी तथा फलफूलजन्य वस्तुको उत्पादन बढ्ने र त्यसलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गोमार्फत विदेश निर्यात गर्न सकिने उल्लेख गरे ।

मन्त्री खाँणले यसबाट हजारौं रोजगारी सिर्जना हुने भन्दै भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९ शनिबार ००:००  ५ : १३ बजे