२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बुटवललाई शैक्षिक हबको रूपमा विकास गरिने छ : विष्णु पौडेल



बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्‍याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् ।

बुटवलमा आइतवार पार्टी कार्यकर्ता भेलामा बोल्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमताअनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि आगामी दिनमा अझै वृद्धि गर्दै जाने बताए ।

सामुदायिक विद्यालयको स्तरोन्नति गरी विद्यार्थीको आकर्षण बढाउँदै रूपन्देहीलाई शैक्षिक हबको रूपमा विकास गर्ने पौडेलको जोड छ । शिक्षासँगै स्वास्थ्य र रोजगारी पनि प्राथामिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।

पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाँका जनता उपचारको लागि महँगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । उनले बुटवलमा अल्पकालीन र दीर्घकालीन रोजगारमूलक तालिम सञ्चालन गरी रोजगारी सिर्जनाका अवसरहरू जुटाउने बताए ।

‘हाम्रो एक वर्ष केही हजार युवा विद्यार्थी पास आउट गर्ने र राम्रा तालिम चलाएर रोजगारीका अवसर बनाएर बेरोजगारीको समस्यालाई समाधानतर्फ पनि आफूहरूको ध्यान गएको छ’, पौडेलले भने, ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र बेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर बनाएर यो क्षेत्रलाई नमूना बनाएका चाहेका छौँ ।’

कार्यक्रममा रुपन्देही–२ का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल विकासमा कही कमी हुन नदिने बताए । बुटवल सबै क्षेत्रमा विकसित हुँदै गएको भन्दै उनले अझै यहाँ गर्नुपर्ने कामहरू पूरा गरी बुटवललाई नमूना बनाउन एमाले सक्षम रहेको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९ आइतबार ००:००  ४ : २३ बजे