१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा जसपा र लोसपा इतिहासकै कमजोर, जनमत पार्टीले उछिन्यो



मायादेवी अनलाइन, बाणगंगा ।
मधेस आन्दोलन पश्चात उदाएका तराई केन्द्रीत दल इतिहासकै कमजोर बनेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कपिलवस्तुका तराई केन्द्रीत दल कमजोर बनेका हुन् ।

कुनै समय जिल्लामा दबदबा राख्ने जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) यो निर्वाचनमा कमजोर भएका छन् । समानुपातिक तर्फको मतपरिणाममा यी दुबै पार्टीलाई हालै गठन भएको जनमत पार्टीले उछिन्न सफल भएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ १५ हजार २०५ मत ल्याएको छ । जिल्लामा चौथो स्थानमा आउन सफल जनमत पार्टी भन्दा जसपा झण्डै आधा मतान्तरले पछाडी छ । जसपाले प्रतिनिधि सभाको समानुपातिक तर्फ ८ हजार ८४१ मत पाएको छ।

लोसपाले ६ हजार ४२३ मत पाएको छ। लोसपा बहुजन शक्ति पार्टी भन्दा एक स्थान माथि छ ।

प्रदेश सभा तर्फ पनि जनमत पार्टी जसपा र लोसपा भन्दा अगाडी छ । जनमत प्रदेश सभाको समानुपातिक तर्फ जिल्लामा तेस्रो राजनीतिक शक्ति बनेको छ । जनमतले १७ हजार २१६ मत पाएको छ । जसपाले १० हजार ३२४ मत पाउँदा लोसपाले ५ हजार ३६८ मत पाएको छ ।

हालको जसपा तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल हो । पार्टी निर्माण भएको डेढ दशकमै पार्टी विभाजन र एकताको श्रृङ्खला पार गर्दै फोरम नेपाल अहिले जसपा बनेको छ । २०६४ र २०७० को चुनावमा जिल्लामा दबदबा राख्ने यो पार्टी २०७९ सम्म आइपुग्दा संकटमा परेको देखिन्छ ।

महन्थ ठाकुरले नेतृत्व गरेको लोसपा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको एक रुप हो । तराई मधेसका आधा दर्जन दल मिलेर निर्माण भएको लोसपाको पनि लामो टुटफुटको श्रृङ्खला छ । २०६४ र २०७० का दुबै निर्वाचनमा यो दलले जिल्लामा एकछत्र जित निकालेको थियो ।

बृजेश कुमार गुप्ता, इश्वर दयाल मिश्र, दान बहादुर चौधरी लगायतका नेताहरु यो पार्टीबाट चुनाव लडेर जितेका थिए । अहिले यी कुनै पनि नेता यो दलमा छैनन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९ बिहिबार ००:००  २ : २१ बजे