११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बाँकेमा एड्सबाट १७० जनाको मृत्यु



नेपालगञ्ज ।

बाँकेमा एचआइभी एड्सबाट हालसम्म १७० जनाको मृत्यु भएको छ।

‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ मनाइएको विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार बाँकेमा हालसम्म एक सय ७० जनाको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार जिल्लामा ५ सय ३८ जना संक्रमित एआरटी उपचारमा छन्। भेरी अस्पतालबाट उनीहरुले सेवा लिइरहेका छन्।

सुईद्वारा लागुऔषध प्रयोग गर्ने, यौनकर्मी, समलिंगी, तेस्रो लिंगी र रोजगारीका लागि विदेशमा रहेका व्यक्तिहरु संक्रमणको जोखिममा रहेको सम्बद्धहरु बताउँछन्।

लागुऔषध प्रयोगकर्तालाई एचआइभी संक्रमण देखिने गरेको छ। प्रहरीका अनुसार सीमावर्ती शहर रहेकाले नेपालगञ्जमा लागुऔषध प्रयोगकर्ता बढी नै छन्।

जनचेतनाका लागि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ। बाँकेमा पनि विविध कार्यक्रम गरेर दिवस मनाइएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९ बिहिबार ००:००  ४ : २२ बजे