७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

गुणस्तरहीन काम गर्ने ११ जनाविरूद्ध मुद्दा दायर



काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

राज्यको स्रोत तथा साधनको दुरूपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो। 

चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनियर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरूद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ।

सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इञ्जिनीयर अजय यादव र सवइञ्जिनीयर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाहीको माग गरिएको छ।

आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ४ : १३ बजे