४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

यू–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश फाइनलमा



काठमाडौं ।

साबिक विजेता लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ५८ रनले हरायो । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि दुई सय २३ रनको लक्ष्य पछ्याएको मधेस ४५.४ ओभरमा एक सय ६४ रनमा समेटिएको थियो । मधेसका लागि मयान यादवले सर्वाधिक ३८ रन बनाउनुभयो । सर्फराज मन्सुरीले ३१ र अलि अन्सारीले २२ जोड्नुभयो । 

बलिङमा लुम्बिनीका अभिषेक गौतम र विशाल विक्रम केसीले समान तीन तीन विकेट लिनुभयो । तुलबहादुर थापा, नर सार्की, दुर्गेश थापा र निर्मल गुरुङ समान उक एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा नौं विकेटको क्षतिमा दुई सय २२ रन बनाएको थियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रन बनाउनुभयो । नर सार्कीले अविजित २६, आकाश त्रिपाठीले २३, विशाल भुसाल र नरेन गुरुङले समान १३ १३ र देव खनालले ११ रन जोड्नुभयो।बलिङमा मधेस प्रदेशका निकेश गुप्ताले तीन, अभिषेक तिवारी र नितेश यादवले समान दुई दुई तथा अविजित मन्डलले एक विकेट लिनुभयो । 

लुम्बिनीको जितसँगै बागमती प्रदेश बाहिरिएको छ । शीर्षस्थानमा रहेको सुदूरपश्चिम ६ खेलमा १२ अङ्क जोड्दै यसअघिकै फाइनलमा पुगिसकेको छ । १० अङ्क बनाएको लुम्बिनीले दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

सात प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लिग चरणका शीर्ष दुई टोलीबीच फाइनल प्रतिस्पर्धा हुन लागेको हो । मुलपानी मैदानमा शनिबार नै भएको लिग चरणको अन्तिम खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई सात विकेटले हराएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०७९ शनिबार ००:००  ४ : ५४ बजे