१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुटवल उपमहानगरमा जग्गाको कित्ताकाट खुल्यो



रुपन्देही ।

लामो समयपछि बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो ।

जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा नं १ देखि १३ र वडा नं १९ का जग्गाहरुलाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको छ ।

कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनःविचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेपछि वडा नं १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको उनले जानकारी दिए । यस्तै वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ ।

त्यसैगरी वडा नं १४, १६ र १८ का ९५ वटा सडकहरुका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गाहरु गैरकृषि क्षेत्र कायम भएका छन् । जग्गा वर्गीकरणका लागि वडामार्फत सूचना गर्दा कृषि क्षेत्र कायम राख्नका लागि भन्दा गैरकृषि क्षेत्र कायम राख्न बढी निवेदन आएको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले बताए । वडा नं १४ देखि १७ सम्मका ५४ जनाले मात्रै आफ्ना जग्गा कृषि क्षेत्र कायम राख्न निवेदन दिएको उनले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७९ सोमबार ००:००  २ : २१ बजे