८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024

दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा



काठमाडौं

ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।

स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।

खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे ।

खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २-० गोलको अग्रता दिलाए ।

दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे ।

२९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३-० ले अघि रह्यो ।

खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ होले एक गोल फर्काएपनि ब्राजिल ४-१ ले विजयी भयो ।

अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।

क्रोएसिया जापानलाई हराएर अन्तिम आठमा प्रवेश गरिसकेको छ ।
दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ६ : ०५ बजे