१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मानव मानव बीचको भेदभाव अन्त्यका लागि सहभोज



मायादेवी अनलाइन, वाणगंगा ।
समाजमा अझै पनि छुवाछुत प्रथा कायमै रहेको भन्दै यसको अन्त्यको लागि कपिलवस्तुको मायादेवी गाउँपालिका ३ फुलिकामा सहभोज कार्यक्रम आयोजना भएको छ । सार्वजनिक स्थल होस् वा समुदायमा अझैपनि मानव मानव बीचको भेदभावले समाजमा नकारात्मक असर पु¥याएको भन्दै यस्ता गलत मान्यता हटाउनु पर्नेमा जोड दिइएको छ ।
२१ औं शताब्दीमा अझैपनि मानिसहरु बीच हुने जातीय छुवाछुतले हिंसा निम्तिरहेको भन्दै यसतर्फ सवै समुदाय सचेत भएर मानवता विरोधी गतिविधी अन्त्य हुनुपर्ने सहभोजमा सरिक सहभागीले बताएका छन् ।
सिद्धार्थ सामाजिक विकास केन्द्र, आइएम स्वीडिस डेभलेपमेण्ट पार्टनरको साझेदारी तथा मायादेवी गाउँपालिकाको समन्वयमा फुलिकामा आयोजित सहभोज कार्यक्रमका जनप्रतिनिधी, कर्मचारी, समाजसेवी महिला, युवाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु पन्थीले जातीय छुवाछुत कानुनी रुपमा अन्त्य भइसकेकाले यसको व्यवहारमा सवैले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले छुवाछुत सामाजिक अपराध भएकाले विद्यमान छुवाछुत हटाउन सवै समुदाय जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । सवै मानव समान छन्, मानव मानव बीच भेदभाव हुनुहुदैन, यदी कतै छुवाछुतको नाममा भेदभाव छ भने त्यो अन्त्य हुनुपर्दछ, मायादेवी गाउँपालिका अध्यक्ष वलीउद्दिन मुसलमानले भन्नुभयो ।
नेपाल जस्तो थोरै जनसंख्या भएको मुलुकमा छुवाछुत, भेदभाव, हिंसा, बालविवाह जस्ता समस्या विद्यमान हुनु रुपान्तरणको लागि बाधक भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम समन्वय प्रमुख रोमकान्त घिमिरेले समाजका सवै मानिस समान हुन भन्ने भावनाको विकास गर्नुपर्ने बताउनुभयो । कुनैपनि धर्मले कुनैपनि व्यक्ति समुदायलाई अपमान गर्दैन र सवैको सम्मान गरेको हुन्छ । ‘हामीले मानवताको व्यवहार गर्नुपर्दछ, मानव ठुलो र सानो कहिल्यै हुदैन समन्वय प्रमुख घिमिरेले भन्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, निवर्तमान वडा अध्यक्ष सुकदेव तिवारी, कार्यक्रम संयोजक धनेवश्वरी घर्ती, नुरमहोम्मद मुसलमान लगाएतले २१ औं शताब्दीमा पनि मानव मानव बीचको भेदभाव र छुवाछुत जस्ता गलत मान्यताले सिमान्तकृत समुदाय पछाडी परेको बताउनुभयो । शान्ति पासी, सुनरमती रैदास, शान्ति नटुवा, सुन्दरी चौहान, राजमती तेली लगाएतका समुहका सदस्यले जनप्रतिनिधी, कर्मचारी, समाजका अगुवा लगाएतसंग सहभोज आयोजना गरेका थिए ।
संस्थाले शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, गरिब विपन्न समुदायको आयआर्जन, रोजगारी, क्षमता विकास जस्ता कार्यमा महत्वपूर्ण सहयोग पु¥याएको प्रति गाउँपालिका अध्यक्ष मुसलमाने धन्यवाद व्यक्त गर्नुभएको छ ।
सामाजिक रुपान्तरण मार्फत न्याय र शिक्षा अधिकारको पैरवीका लागि संस्थाले गाउँपालिकासंग सहकार्य गर्दै आइरहेको छ । शुद्धोधन र मायादेवी गाउँपालिकालाई सन् तत्काल छुवाछुत अन्त्य गर्ने अभियानका साथ समुदायमा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ७ : ४३ बजे