८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लुम्बिनी प्रदेशको सम्पुर्ण कामकारबाही आजदेखि स्थायी राजधानी देउखुरीबाटै



बुटवल । 

स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङको देउखुरीबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो । राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो झण्डोत्तलन गर्ने कार्यक्रम छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तलन गरेसँगै मुख्यमन्त्री कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने छ । दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो । 

देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायतका संरचना बनाइएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई अहिले सिँगारिएको छ ।

यहाँका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रङ लगाइएको छ । बजार क्षेत्र तथा मुल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण भएका छन् । यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा प्रदेश राजधानीको संरचना बनाइएको छ । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये मुख्यमन्त्री कार्यालयसहित ६ वटा मन्त्रालय यही परिसरमा रहने छन् । 

यस्तै प्रदेशसभा भवन पनि यहीँ स्थापना भएको छ । बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताए । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना भइसकेको छ ।

प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ । अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी भएको छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिगाह जग्गामा साना–ठूला गरेर ४० वटा भवन छन् । ती भवनलाई मर्मत गरी राजधानीको संरचना तयार पारिएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९ बुधबार ००:००  ११ : ५६ बजे