२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नदीजन्य पदार्थको दोहन रोक्न माग



नेपालगञ्ज । 

बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित मानखोलामा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार हुने गरेको छ। अवैध नदी उत्खनन कार्यले नदीजन्य समस्या उत्पन्न भएको भन्दै स्थानीयले यसको नियन्त्रणका लागि गाउँपालिका कार्यालय घेराउ गरेका छन्। 

एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार भइरहेको गुनासो उठे पनि गाउँपालिका, प्रहरी र प्रशासन मौन देखिएको स्थानीयवासीको आरोप छ। 

स्थानीय पूर्णप्रसाद कोइरालाले नदीजन्य पदार्थ गिट्टी र बालुवाको तस्करीविरुद्ध आवाज उठाउने स्थानीयवासीलाई कुटपिट गर्ने र मार्नेसम्मको धम्की दिने गरेकोले गाउँपालिका घेराउ गरी पालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको बताउनुभयो। उहाँले राति १२ बजेपछि एक्साभेटर खोलामा लगेर दैनिक रूपमा नदीजन्य पदार्थ लैजाने गरिएको बताउनुभयो। स्थानीय प्रहरीले समेत सो कार्य रोक्न चासो नदिएको कोइरालाले बताउनुभयो। 

मानखोलामा गरिएको जथाभावी दोहनले जब्दहवा, पहाडीपुर र कन्याराज गाउँ जोखिममा परेका छन्। बालुवा र गिट्टी झिकेको खाल्टोमा डुबेर दुई बाल बालिकाको मृत्यु भइसकेको छ। बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले आफूलाई यसअघि पनि सोही घटनाका सम्बन्धमा स्थानीयवासीको गुनासो प्राप्त भइसकेकोले अब प्रहरी प्रशासनको सहयोगमा रोक्ने प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ३ : ४० बजे