१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ज्येष्ठ नागरिक दिवस मनाइँदै



काठमाण्डौ

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

२०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् ।

ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्छन् ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको मर्यादित जीवन एवम् सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घसंस्था एवम् तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको छ ।

अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको पनि उहाँको भनाइ छ । उहाँले ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै, सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा, यातायात सेवालगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवासुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा राष्ट्रपति भण्डारीले आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  ८ : १६ बजे