१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव



काठमाडौं ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालेको छ । त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो ।

स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्न प्रस्ताव गरेको बताए ।

त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनावको मिति तोक्ने सहमति जुटेको छ। त्रिवि क्याम्पसमा २०६५ देखि स्ववियु चुनाव भएको छैन ।

स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सबै सङ्गठन स्ववियु निर्वाचनमा एकमत रहेकाले निर्वाचनको मिति तोक्न त्रिविलाई आग्रह गरिएको बताइन् ।

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले पनि चुनावको मिति तोक्नेबारे छलफल भएको बताइन्। ‘त्रिविले ल्याएको फागुन २८ को प्रस्ताव र फागुन १४ वा चैत १४ मध्ये एक दिन चुनाव गर्ने गरी छलफल भएको छ,’ उनले भनिन् ।
त्रिविले परीक्षा र भर्नालाई असर नपर्ने गरी फागुन २८ गते चुनाव गर्न उपयुक्त हुने बताएको छ।

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  ७ : ४८ बजे