१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

वार्नरले तीन वर्षको अन्तराल पश्चात शतक हाने



काठमाडौं ।
टेस्ट क्रिकेटमा तीन वर्षको शतकको खडेरीपछि डेभिड वार्नरले आफ्नो १००औं टेस्ट म्याचमा शतक प्रहार गरेका छन्।

पछिल्ला दिनमा उनको खेललाई शंका गर्नेलाई गलत साबित गर्दै अस्ट्रेलियन ओपनर वार्नरले आफ्नो सयौं टेस्टमा शतक प्रहार गरेका हुन्।

विगत तीन वर्षदेखि उनले टेस्टमा शतक प्रहार गर्न नसकेपछि उनको आलोचना भइरहेको थियो।

मेलवर्नमा जारी दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा वार्नरले १४४ बलमा शतक पूरा गर्ने क्रममा कागिसो रबाडाको बललाई फाइन लेगमा बाउन्ड्री प्रहार गरेका थिए। त्यसपछि मेलवर्नमा उपस्थित दर्शकले उत्साहजनकरुपमा ताली बजाएका थिए। 

उनी सयौं टेस्ट खेलमा शतक बनाउने १०औं खेलाडी बने। यो उपलब्धि हासिल गर्ने दोस्रो अष्ट्रेलियाली बन्दै रिकी पोन्टिङसँगै आफ्नो नाम लेखाए। पोन्टिङ १०० औं टेस्टमा दोहोरो शतक बनाउने एक मात्र खेलाडी हुन्।

वार्नरले खेलमा ८ हजार टेस्ट रन पनि पूरा गरे। ४६ भन्दा माथिको औसतमा ८ हजार रन बनाएका उनी अस्ट्रेलियाका लागि सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा सातौं स्थानमा पुगे।

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  ११ : ३१ बजे